चलचित्र पत्रकार सङ्घको २१ औँ साधारण सभा सम्पन्न

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको २१ औँ वार्षिक साधारण सभा मङ्गलवार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।
चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउन्सिल सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासङ्घका एसोसियट सचिव प्रकाश थापा र अतिथिमा चलचित्र क्षेत्रसङ सम्बन्धित सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
अध्यक्ष दिनेश सिटौलाले सङ्घले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई सङ्गठित गर्दै नेपाली चलचित्र, मनोरञ्जन र कला साहित्य क्षेत्रको प्रवर्द्धनका लागि सशक्त रूपमा कलम चलाउँदै आएको बताए । समग्र मनोरञ्जन क्षेत्रलाई मर्यादित र समाजसँग जोड्न चलचित्र पत्रकारले विशेष भूमिका खेल्दै आएको उनको भनाई छ ।
यस्तै, कार्यक्रममा सङ्घका महासचिव समीर बलामीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कार्कीले वर्ष भरी भएका आम्दानी र खर्चको विवरण सहितको आर्थिक प्रतिवेदन समेत पेस गरेका थिए । चलचित्र पत्रकार सङ्घ नेपालको २१ औँ साधारण सभामा सङ्घका ९ ओटा शाखाका पदाधिकारी र सङ्घमा आबद्ध सदस्यहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि शाखालाई पनि एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको शाखाबाट उपस्थित प्रतिनिधिहरूको भनाई थियो ।








