उपराष्ट्रपतिले सम्झिएका नेपाली चलचित्रहरु

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली चलचित्रहरु सम्झिएका छन् । प्रमुख अतिथिको रूपमा दसौँ नेफ्टा अवार्डलाई संबाेधन गर्दै उपराष्ट्रपति पुनले आफूलाई धेरै प्रभाव पारेका नेपाली चलचित्रको नाम सम्झिएका हुन् । चलचित्र प्राविधिक सङ्घको आयोजना भएको कार्यक्रममा उनले माइतीघर, बसन्ती, कन्यादान, बलिदान र साइनो चलचित्रले आफूलाई धेरै नै प्रभाव पारेकाे बताए ।
माइतीघरले नारी भावनाको सन्देश दिएको, कन्यादानले समाज परिवर्तनमा भूमिका खेलेको बताए । कन्यादानले अन्धविश्वास र कुरीतिलाई हटाउन तीजको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेकाे उनकाे भनाइ छ । बलिदान चलचित्रको राष्ट्रभक्ति र सङ्घर्षको कथा पनि उपराष्ट्रपति पुनले सम्झिए । राजनैतिक परिवर्तनमा समेत चलचित्र क्षेत्रले सहयोग र समर्थन गरेको बताए । उनले बसन्ती ऐतिहासिक चलचित्र रहेकाे पुनले बताए ।
सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले धेरै कलाकारको नामसमेत लिए । नायकमा सराेज खनाल, भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दिलीप रायमाझी, विजय लामा हुँदै अनमाेल केसी, प्रदीप खड्का, पल शाहसम्म आफूलाई मनपर्ने बताए ।
यस्तै, नायिकाहरुमा भुवन चन्ददेखि कृष्टि केसी, करिष्मा मानन्धर, रेखा थापा र प्रियङ्का कार्कीसम्मले राम्राे अभिनय गर्ने गरेकाे उनले बताए ।
यस्तै निर्देशकमा नीर शाह र तुलसी घिमिरे तथा द्वन्द्व निर्देशकमा राजेन्द्र खड्गी विशेष मन पर्ने बताए ।
नाम लिने क्रममा झुक्किएपछि सच्याउँदै बाेलेका उपराष्ट्रपति पुनले आफूले नाम लिएका बाहेक पनि धेरै नेपाली नायक नायिका र कलाकारले राम्राे काम गरिरहेकाे बताए ।
नेपाली चलचित्र क्षेत्रले ६ दशकको समयमा स्तराेन्नति र विकासमा फड्को मारेको उनले बताए । चलचित्रको निर्देशन, पटकथा, कथा, अभिनयदेखि प्राविधिक पक्षमा समेत सुधार आएको पुनको भनाइ थियो ।








