‘जुलुस होइन, संविधान हेरेर कू सच्याइयोस्’ [भिडिओसहित]

काठमाडौं । विपक्षी नेकपाका नेता रघुजी पन्तले संसद्विरुद्ध भएको कू संविधानसम्मत सच्चिनुपर्ने बताएका छन् । सोमबार संसद् विघटनविरुद्ध काठमाडौंमा भएको प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पन्तले कू संविधानसम्मत सच्चिनुपर्ने बताएका हुन् ।

संसद् विघटन असंवैधानिक भएको दाबी गरेका नेता पन्तले सर्वोच्च अदालतले संविधानलाई हेरेर फैसला गर्नुपर्ने तर्क गरे । ‘हाम्रो जुलुस, कांग्रेसको जुलुस अथवा अन्य कुनै दलका वा समूहको जुलुस हेरेर होइन’, नेता पन्तले भनेका छन्, ‘सर्वोच्चले नेपालको संविधान २०७२ लाई हेरेर फैसला गर्नुपर्छ र गरोस् ।’

यस्तै नेता पन्तले आफ्नो पार्टीलाई सर्वोच्चले संविधानसम्मत फैसला गरेर संसद् पुनर्स्थापना गर्छ भन्ने पूर्ण विश्वास रहेको बताए । ‘हामीलाई विश्वास छ कि, सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ । हाम्रो प्रदर्शन चाहिँ जनताहरुलाई जागरुक बनाउने मात्रै हो । सँगै संविधानको पक्षमा जनमत बनाउने अभियान हो ।’

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा (संसद्) विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि नेपालको राष्ट्रिय राजनीति सडक केन्द्रित छ । संसद् भङ्ग भएपछि दुईतिर भएका नेकपाले आ–आफ्नै अनुकूल राजनीतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया