नेकपालाई जोड्न असफल भयाे चिनियाँ टाेली, देउवालाई निम्ताे दिएर फर्कियाे

काठमाडौँ । दुई समूहमा विभाजित भएको नेकपालाई एकजुट बनाउन नेपाल भ्रमणमा आएको चिनियिाँ टोली फर्किएको छ ।
आइतबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वकाे टाेली बुधबार फर्किएकाे हाे । तीन दिने नेपाल बसाइँमा विभाजित नेकपालाई एकजुट बनाउन असफल हुँदै टाेली फर्किएकाे हाे ।
टाेलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । चिनियाँ टाेलीसँगकाे भेटवार्तापछि साेमबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब २ घण्टा छलफल भएकाे थियाे ।
साेमबार टाेलीले टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेको थियो । माधव कुमार नेपालसँग पनि उनीहरूले भेटेका थिए ।
साे टाेलीले मंगलबार प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकाे थियाे । भेटवार्ताका क्रममा चिनियाँ टाेलीले देउवालाई राष्ट्रपति तथा पार्टी महासचिव सी जिनपिङका तर्फबाट अर्को वर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको १०० औँ वार्षिक समारोहमा आमन्त्रण समेत गरेकाे छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा ओली र नेपाल-दाहाल समूहमा विभाजन भएकाे छ । नेपाल-दाहाल पक्ष लगायत विपक्षी दलहरूले अहिले ओलीविरुद्ध दिनहुँजसाे प्रदर्शन गरिरहेका छन् । नेकपा विभाजनकाे डाेरमा चलिरहेका बेला चिनियाँ टाेलीकाे भ्रमण अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
यद्यपी चिनियाँ टाेलीले भने नेकपाकाे आन्तरिक मामिलामा हस्तक्षप गर्नु भ्रमणको उद्देश्य नभएको स्पष्ट पारेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारी नियन्त्रण लगायतका विषयमा भ्रमण केन्द्रित रहेकाे उसकाे भनाइ थियाे ।








