‘संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।

परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश–२०७७ जारी गरेकी छन् । जुन राजपत्रमा समेत प्रकाशित भएको छ । उक्त अध्यादेशलाई सभापति देउवाले अलोकतान्त्रिकको संज्ञा दिएका हुन् ।

ट्वीटरमार्फत् आपत्ति जनाएका देउवाले थप लेखेका छ्न, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हाँस्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रष्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

यस्तै अध्यादेश जारीको विषयलाई लिएर नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापालगायतले पनि आपत्ति जनाएका छन् ।

प्रतिक्रिया