हास्य कलाकार मनोज गजुरेलको मृत्युको हल्ला फैलाइँदै, गजुरेल भन्छन्–‘आराम छु’

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना संक्रमण भएर हस्पीटलमा उपचाररत छन् । राजधानीको शशष्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत कलाकार गजुरेलको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाइएको पाइएको छ ।

केही सामाजिक प्रयोगकर्ताले मनोज गजुरेलको कोरोना संक्रमणबाट मृत्यु भएको भन्दै फेसवुकमा श्रद्धाञ्जली व्यक्त गर्न थालेपछि कलाकार गजुरेलले हिजो राती नै आफु ठिक रहेको प्रष्ट्याएका छन् । ९ घन्टा अगाडी मनोजले लेखेका छन्–‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

एक साताअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै बसेका गजुरेलको फोक्सोमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

फोक्सोमा निमोनियाँ देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको थियो । गजुरेलको स्वास्थ्यउपचारमा संलग्न शशष्त्र प्रहरीका चिकित्सकका अनुसार उनको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ ।

तथापि, केहीले सामाजिक सञ्जालहरुमा मनोज गजुरेलको मृत्यु भन्दै श्रद्धाञ्जली दिन थालेपछि उनका प्रशंशक चिन्तित भएका छन् । मनोज गजुरेलसँग नियमित सम्पर्कमा रहेका अर्का हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि गजुरेलको पछिल्लो स्वास्थ्यवस्था अपडेट गरेका थिए ।

 

प्रतिक्रिया