बाइक र स्कुटर किन्नेहरुलाई अफरै अफर, कुनमा कति छुट ?

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठ नजिकिँदै गएपछि दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरुले नगद छुटदेखि अन्य विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।

कोरोनाको कारणले पनि दुई पाङ्ग्र सवारी साधनहरुको बिक्री राम्रो भएको कम्पनीहरु बताउँछन् । कोरोना महामारीमा पनि बाइक र स्कुटर बिक्रेता कम्पनीहरुले ग्राहकहरुको लागि आकर्षक योजनाहरु ल्याएका छन् ।

गत वर्षको दशैं तिहारजस्ता ठूला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । यो कोरोना माहामरीको समयमा पनि सवारी खरिद गर्नेहरुले अधिकतम फाइदा पाउँछन् ।

यो वर्ष करिब ७ महिना लामो लकडाउनको कारणले गर्दा बजारमा त्यतिधेरै चहलपहल भइसकेको छैन । तथापि, केही समययता विभिन्न कम्पनीहरुले बाइक र स्कुटरका ग्राहकहरु आकर्षित गर्न अफरहरु चैं ल्याइरहेका छन् । अहिले दुई पाङ्ग्रेदेखि ठूला सवारीसाधन खरिद गर्नेहरुलाई कम्पनीहरुले विशेष प्याकेज नै ल्याइरहेका छन् ।

कुन बाइक र स्कुटरमा कति छुट ?

रनर मोटरसाईकल तथा स्कुटर

बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक बिक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने छ ।

कम्पनीका म्यानेजर सन्तोष न्यौपानेले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरे । साथै रनरले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको उनले बताए ।

सो कम्पनीको कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मूल्यांकन गरिने र देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अफरअन्तर्गत रु. ५१ हजारसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने छन । रमन मोटर्सले हाल ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएकोे छ ।

सुजुकी

सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोवाईल्स प्रालिले दसैंतिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने व्यवस्था गरेको छ ।

कम्पनीका मार्केटिङ हेड समित सिहंले स्कुटरको खरिदमा १२ हजार नगद छुट तथा बाइक खरिदमा १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुविधा पनि उपलब्ध गराएको बताए ।

टिभीएस
टिभीएस मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि दसैं लक्षित टिभिएस दसैंको आशा योजना ल्याएको छ ।

कम्पनीका सेल्स हेड दिपक रौनियारले टिभिएस दसैंको आशा योजनाअन्तर्गत कम्पनीका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले नगद ९ हजारसम्म छुट पाउने बताए । शून्य प्रतिशत ब्याजदर र किने पनि नकिने पनि बम्पर मूल्य आरआर ३१० सीसीको योजना पनि सार्वजनिक गरेको छ ।

यामाहा
नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं लक्षित गरि यामाहाको मोटरसाइकल र स्कुटरमा विशेष छुट दिने योजना ल्याएको छ ।

कम्पनीका मार्केटिङ प्रमुख विक्रम पौडेलले मोटरसाइकल र स्कुटरमा विशेष छुट योजना अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकलाई ८ हजार, स्कुटर किन्ने ग्राहकलाई ६ हजारसम्म छुटको व्यवस्था गरेको बताए । शुन्य प्रतिशत ब्याजदरसहित पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरेमा १५ हजार छुट हुने उनले बताए ।

होण्डा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ‘हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ग्राहकवर्ग माझ ल्याएको छ ।

कम्पनीका एसिस्टेन मिडिया कोडिनेटर सुमित सिलवालले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै होण्डाले ग्राहकहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई ल्याएको बताए । सो योजना अविधिभर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न पनि उनले बताए ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपनबाट १ लाखसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने सिलवालले जानकारी दिए ।

बजाज
बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘रोजेरै खुसी’ योजना ल्याएको ।

सो योजनामा ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाईकलको खरिदमा तीनवटा अफरमा पहिलो १० हजार रुपैयाँको नगद छुट, दोश्रो अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज र तेश्रो २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ्गसँगको सुविधा रहेको छ । खरिदकर्ताले यीमध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।

हिरो
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ्ग प्रालिले चाडपर्व लक्षित ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले ५ हजार पक्का डिस्काउण्ट पाउनेछन् । यसका साथै लक्की ड्रमार्फत १ जनाले एक लाख नगद पाउनेछन् भने स्क्र्याच काडमार्फत् १ लाखसम्म क्यास पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया