डा. केसी र वार्ता गर्न गएको सरकारी टोलीबिच के भयो कुराकानी ?

काठमाडौं । डा. गोविन्द केसी अनशन बसेको २३ औँ दिन पुग्दा सरकारी टोली अनशन स्थलमा पुगेको छ । वार्ताका लागि शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली डा. केसी अनशनरत त्रिवि शिक्षण अस्पताल पुगेको हो ।
भेटमा टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेकाे छ । डा. केसीले भने आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने अडान राखेका छन् ।
डा. केसीले विभिन्न ६ बुँदे मागहरू राखेर जुम्लामा अनशन सुरू गरेका थिए । पछि काठमाडाैं फर्किएका हुन् । अनशनकाे २३ दिन पुगिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ता टाेली गठन गरेकाे छैन ।
डा. केसीकाे अनशनमा प्रतिपक्षी दलका नेताहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा लगायतले ऐक्यबद्धता जनाएका छन् । उनकाे समर्थनमा दिनहुँ प्रदर्शन भइरहेकाे छ ।









