नेपालमा निको हुने दर बढ्यो, कोरोना जित्नेको संख्या ५० हजार नजिक

काठमाडौं । पछिल्लो समय मुलुकमा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढिरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक नेपालमा निको भएको दर ७३.७ प्रतिशत रहेको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८९३ जना व्यक्ति निको भएका छन् भने ११७२ जना संक्रमित थपिएका छन् । उक्त दिन ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको गरिएको हो ।
७ असोजको तथ्यांक अनुसार मुलुकमा कोरोनाबाट निको हुनेको कुल संख्या ४९९५४ पुगेको छ । यस अनुसार मुलुकमा कोरोनाबाट निको हुने दर ७३.७ प्रतिशत छ । बुधबारसम्म ६७८०४ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७४१४ छ ।
६ असोजमा ८२३ जना निको भएका थिए भने १३५६ जना संक्रमित थपिएका थिए । सोही दिन निको हुनेको कुल संख्या ४८०६१ र निको हुने दर ७२.१३ प्रतिशत थियो । यसैगरी ३ असोजसम्ममा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ४५२६७ निको हुने दर ७२.०८ प्रतिशत थियो ।
स्वास्थ्य मन्त्रालयको ३१ भदौसम्मको तथ्यांक अनुसार कोरोनाबाट निको हुने व्यक्तिको संख्या कुल ४१७०६ थियो, भने निको हुने दर ७१.५ प्रतिशत थियो । यसरी एक हप्ताको अन्तरमा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ८२४८ ले बढेको देखिन्छ । कोरोनाबाट निको हुने दर भने एक हप्तामा ७१.५ प्रतिशतबाट बढेर ७३.७ प्रतिशतमा पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमणमुक्त ?
-प्रदेश १ : ४५१६ जना
-प्रदेश २ : १२७६० जना
-वाग्मती प्रदेश : १२८१२ जना
-गण्डकी प्रदेश : २९४१ जना
-प्रदेश ५ : ७७७५ जना
-कर्णाली प्रदेश : २७८२ जना
-सुदूरपश्चिम प्रदेश : ६३६८
- तथ्याङ्क स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय









