सरकारले तेस्रो मुलुकमा चिया निर्यातका लागि तत्काल बजारको सुनिश्चित गरोस्ः निष्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तेस्रो मुलुकमा बजार सुनिश्चित गर्न पहल गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राईले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुन पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले इलामका चिया उद्योगहरू बन्द हुँदा किसान, श्रमिक तथा उद्योगीहरू गम्भीर समस्यामा परे पनि सरकारले प्रभावकारी पहल नगरेको गुनासो गरे। भारतसँग तत्काल कूटनीतिक संवाद गरी चिया निर्यातको अवरोध हटाउन सरकार सक्रिय हुनुपर्ने उनको माग थियो ।

राईका अनुसार भारतीय चिया बोर्डले ‘एसओपी’ नामक नयाँ मापदण्ड लागू गरेपछि त्यसको प्रभाव नेपाली चिया उद्योगमा परेको छ । उक्त मापदण्ड पूरा गर्न नसक्ने चिया नष्ट गर्नुपर्ने व्यवस्था रहेकाले इलाममा ८३ भन्दा बढी चिया उद्योग बन्द भएको उनले बताए ।

‘इलामका चिया उद्योग र किसानहरूले फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब तीन दिन भइसकेको छ । यति संवेदनशील विषयमा पनि सरकारको ध्यान जान सकेको छैन,’ उनले संसदमा भने ।

चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकहरूको रोजगारी गुमेको तथा उद्योगीहरू बैंकको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको राईको भनाइ थियो । उनले चिया क्षेत्र हजारौं परिवारको जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

राईले भने, ‘चिया निर्यात खुलाउन जीटुजी तहमा पहल गरियोस्, कूटनीतिक प्रयास अगाडि बढाइयोस् र दीर्घकालीन समाधानका लागि चिया टेस्टिङ ल्याब निर्माण गरियोस् । साथै तेस्रो देशमा चिया निर्यातका लागि बजार सुनिश्चित गरियोस् ।’

सचेतक राईले चियाको गुणस्तर मापन गर्न आवश्यक परीक्षण प्रयोगशालाको व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =