प्रधानमन्त्रीले आम जनतासँग माफी माग्नु पर्दछ: एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेका हुन् ।
सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भइरहेको पनि बताए । उनले प्रधानमन्त्री साहले उक्त अभिव्यक्तिबारे संसदको रेकर्डबाट नहटाएसम्म आफूहरूको विरोध जारी रहने बताए ।
सांसद रानाले भने ‘यो भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको भूमि हो । यसलाई सानोतिनो हिसाबले नसम्झियोस् । राष्ट्रियताप्रति हामी सबैको प्रेम छ, निष्ठा छ । समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलाफमा प्रधानमन्त्रीले भद्दा मजाकका साथ नेपालको भारतको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनु हुन्छ । लाज लागि रहेको छ । मैले आग्रह गर्न चाहेँ– यो देशलाई हाम्रो राष्ट्रियतालाई कमजोर गर्ने राष्ट्रघाती अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीबाट अभिव्यक्त भएको छ । यो रेकर्डबाट हटाउन माग गर्दछु । र, जनतासँग माफी माग्न हार्दिक आग्रह गर्न चाहेँ ।’
सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाहरूले आर्जेको मुलुकमाथि धावा बोल्दै अधिकार कसैलाई पनि नभएको बताए ।









