१२ उपाध्यक्ष एक हजार केन्द्रीय सदस्यमा अड्कियो एकताका काम

काठमाडौं । राष्ट्रिय राजनीतिमा तेश्रो दलको हैसियतमा उदाएको जनता समाजवादी पार्टीले एकताको २ महिना पुगिसक्दा पनि एकतालाई पूर्णता दिन सकेको छैन । बरु नेताहरुबीचको भागबण्डा मिलाउन १ हजार केन्द्रीय सदस्य बनाउने र को उपाध्यक्ष हुने भन्ने होडबाजीमा दिन बिताइरहेका छन् ।

दुई महिना अघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विवादास्पद निर्णयले एउटै डुंगामा सवार हुन बाध्य भएपनि बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरहरु यतिबेला एकताको समिकरणलाई पूर्णता दिन असफल भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत दल फुटाउने विधेयक जारी गर्दा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोले समाजवादी पार्टी र राजपाविच एकता गरेका थिए । तर, त्यसलाई अझै पूर्णता दिन सकिरहेका छैनन् ।

बाध्यात्मक परिस्थितिका कारण एकतामा पुगेका दुई दलहरुका शिर्ष नेताहरु विच नै मतभिन्नता देखिएको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकता भएर बनेकों जनता समाजवादी पार्टीको नेतृत्वले एकताको महिनौ भइसक्दा पनि पार्टीको माथिल्लो कमिटी समेत गठन गर्न सकेको छैन ।

वैकल्पिक शक्ति बन्ने दावीका साथ तेस्रो दलको नेतृत्वमा उभिएका नेताहरुको उद्देश्य पदप्राप्ति बाहेक केही देख्न नसक्दा एकताका प्रक्रियाहरु थाँती रहेका छन् । उनीहरुमा को भन्दा को कमको घमण्ड देखिएको छ ।

‘पार्टीका केन्द्रीय समिति र उपाध्यक्ष चयन गर्ने कुरामा नेताहरु विच छलफल भइरहेको छ । केन्द्रीय कमिटिमा नेताहरुको व्यवस्थापन भएपनि स्थानीय र क्षेत्रिय तहमा एकीकरणका कामहरु अगाडी बढ्छन् ।’ एक बरिष्ठ नेताले भने ।

मधेश केन्द्रित मुद्दालाई प्राथमिकतामा राख्दै आएको जसपा जनतातर्फ भन्दा व्यक्ति केन्द्रित प्रवृत्तितर्फ केन्द्रित भएको मधेशवादी नेताहरुको भनाई छ । सजपामा अहिले १२ जना उपाध्यक्ष र १ हजारको केन्द्रीय कमिटी बनाउने विषयमा गृहकार्य भइरहेको छ । पार्टी एकताको बाँकी कार्यभार पूरा गर्न नेताहरुको व्यवस्थापन आवश्यक भएको हुँदा आफूहरुले यस्तो तयारी थालेको जसपाका नेताको भनाइ छ ।

पार्टीभित्रका एक दर्जन शिर्षस्थ नेताहरुको पद विभाजनमा देखिएको खाडल स्थानीय र क्षेत्रिय तहमा पनि बढ्दै गएको छ । पार्टी सानो नेताहरु ठूला भएकाले पनि समस्या पैदा भएको बुझिएको छ ।

पार्टी एकीकरण राजनीतिक हिसाबले टुङ्गोमा पुगिसकेको अवस्थामा दुवै पार्टीको एकैखाले पृष्ठभूमि भएको र वैचारिक तथा सैद्धान्तिक हिसाबले पनि एउटै धरातलमा उभिएकाले सँगै अघि बढ्न सहज हुने भनिएकाे थियाे । तर, २ महिना सम्म एकताका प्रक्रिय अगाडी नबढ्दा कार्यकर्ताहरूमा शंसय पैदा भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =