चितवनमा स्वास्थ्यकर्मीसहित ५ जनाले जिते कोरोना

चितवन । चितवनको भरतपुर सेन्ट्रल अस्पतालका ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले कोरोना जितेका छन् । गत साउन ३२ गते कोरोना पुष्टि भएका ३ नर्ससहित ५ जनालाई कोरोना नेगेटिभ देखिएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अस्पतालको छुट्टाछुट्टै क्याबिनमा आइसोलेसन गरी राखिएका उनीहरुलाई १४ दिनसम्म आवश्यक उपचार र स्वास्थ्य अवस्थाको निगरानी गरी पुनः पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले जानकारी दिए ।
उनीहरुमध्ये ३ जनामा साधारण लक्षण देखिएको थियो भने बाँकी २ जनामा भने कुनै लक्षण नदेखिएको डा. सिंहले जानकारी गराए । अस्पतालले डिस्चार्ज गर्दा नै घरको क्वारेन्टिन बस्दा आवश्यक पर्ने सुरक्षा सामग्रीहरु मास्क, स्यानिटाइजर तथा दैनिक आवश्यक वस्तुहरू उपलब्ध गराएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल विक्रम कार्कीले अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीलाई संक्रमण हुनसक्ने सम्भावना उच्च हुनु स्वाभाविक भएकोले यस्तो बेलामा कोही पनि नआत्तिई उपचारमा संलग्न हुन र स्वास्थ्यकर्मीलाई हौसला बढाउनुपर्ने बताए । भरतपुर सेन्ट्रल अस्पताल आइसोलेसनमा अहिले पनि एकजना कोरोना पोजिटिभको उपचार भइरहेको छ ।









