‘ऊ’ अर्थात् ‘धोकेवाज केटी’ !

‘ऊ’ अर्थात् ‘धोकेवाज केटी’ !

उसको घर बर्दिबास बजारमै, दुई भाइ, ऊ अगाडि एउटी दिदी, आमा–बुबा । म गौरीबासको । मेरो अफिस चैं बर्दिबास । गौरीबासबाट मोटरसाइकलमा बर्दिबास आउन धेरै लाग्दैन ।

पूर्वपश्चिम राजमार्ग पछिल्लो समय सिन्धुली, काठमाडौं सडक बनेपछि दिन दोगुणा रात चौगुना रङ्गिन भएको छ । मेचीदेखि महाकालीसम्मका मान्छेहरु भेला हुन्छन् ।

राती १२ बजे पनि खाना खान पाइन्छ । माओवादी जनयुद्धताका पहाडबाट धेरै मानिसहरु ज्यान बचाउन तराई झरे । मधेश आन्दोलनको बेला पहाडीयाको खेदो खनियो, कति त्यहीँ लडेर बसे, कति चैं श्रीसम्पत्ति छाडेर ज्यान बचाउन राजधानी छिरे ।

म पनि सिन्धुलीबाट बर्दिबास झरेको १२ वर्षको उमेरमा । किन झरें थाहा छैन, सायद सुख खोज्न हिँडेको दुखः धेरै गरें । कति रात सडकमा सुतें, कति रात कमलामाईको किनारामा, त कति रात बर्दिबासका गल्लीहरुमा । होस सम्हालेपछि मात्र हो, थिती बसाएर काम सिकेको ।
०००
उसँगको भेटमा खासै नोटिस्ट गरेको थिइनँ । म काम गर्ने कार्यालयमै काम माग्न आएकी थिइ । रातो कालो कुर्ता सुरुवाल, दुई चुल्ठी बाटेकी, गाजले आँखा । खासै बोलेकी हैन । देखादेख भयो, सामान्य चिनापर्ती पनि भयो । ‘भोलिदेखि काममा आउनु’ साहुले भन्यो ।

ऊ भोलिदेखि काममा आउन थाली । नोटिस्ट त के, नामसमेत थाहा थिएन । नामै त्यस्तै थियो । ‘सुकृतिका’ मानसपटलमा परेन । ‘तपैंलाई मेरो नामै मन परेन जस्तो छ ।’ एकदिन अनपेक्षित प्रश्न उसका ओठ छिचोल्दै म कहाँ आए । म अकमक्क ।
‘ए त्यस्तो त हैन, बानी नभए हो । सरी ।’

‘त्यस्तै हो, सबैको नाम याद गरेर मात्रै पनि हुँदैन नि ।’ उसका प्रतिक्रियाले च्वास्स घोचेजस्तो भयो ।

‘कस्ति रैछे ! जाबो नाम था नहुँदा नि यत्रो नखरा !’ मनमा यत्ति कुरा गुनें ।

भोलिपल्टबाट उसको नाम याद हुन थाल्यो । हुन त पहिलो भेटमै सबैको नाम याद गरेर कहाँ साध्य होला र ? याद त ती मानिसका गरिन्छन्, जो हरदम मस्तिष्कमा हैन मनमा रहन्छन् । अनि मलाई कहाँबाट नाम याद हुनु ? ऊ मेरो भइसकेकी पनि थिइन ।

जब मनमा डेरा जमाई उसले, सधैंको लागि हैकम जमाएजसरी । लाग्थ्यो– उसको बाहेक मनमा डेरा जमाउने र मुटुमा बाँच्ने अधिकारै पनि छैन । खैर, के भएको ? म पनि त एकोहोर भएको हुँदो हुँ । खाँदा, बस्दा, सुत्दा, डुल्दा हरेक क्षण हरेक प्रहर उसकै तस्वीर आँखामा मुनाल चाँचेजसरी नाँचिरह्यो । अनि केही दिनमै मभित्र ऊ अनि ऊभित्र म समाहित भयौं ।

ऊ के सोच्छे, मलाई था भएन । तर, उसको अगाडि जान म लजाउँथें । हुनु त उसलाई पाउने आशक्ति र उसलाई पाइसकेको पलमा यत्तिको मायावी लक्षणहरु देखिनु स्वभाविक हुन सक्ला ।

तर ऊ जब अगाडि हुन्थि, मुटुमा जोडले ढ्याङग्रो ठटाएझैं हुन्थ्यो । ऊबाट छुट्ने सु-गन्धमा म यसरी लठ्ठिन्थें, जसरी सपेराको अगाडि सर्प लठिन्छ । अझ यसो भनौं– म उसको मादकतामा लठ्ठिँदै गएँ, सनैसनै ।

कार्यालयमा कर्मचारीको रुपमा आएकी उ विस्तारै मेरो साथीको रुपमा बढी हावी हुँदै गई । मेरो काम–कारबाहीमा तानिँदै गई । ‘सर, चटपटे खाउँन !, सर चिया पिऔं न !, सर खाजा खानुस् न अगाडि !’ उसका ओठबाट फुत्किएका एक–एक आदेशहरुलाई म पालना गरिरहन्थें, जसरी एउटा सिपाहीले हाकिमको आदेश छिनभर पनि नजरअन्दाज नगरी जे हो गरिहाल्छ ।

म पागल भइरहेको थिएँ, सिर्फ उसको प्रेममा । म यहाँसम्म पुगें कि, मैले आफ्नो धरातल पनि बिर्सें– गुमानेले आफ्नो कोटको रङ बिर्सेजसरी ।

केही समयपछि उसको घर आउजाउ हुन थाल्यो । उसका कोठासम्म छिर्न थालें । उसका परिवारले केही भने भनेनन् केही भनिन । मेरो बारेमा उसले पनि केही सोधिन्, मैले आफ्ना अन्तरभावनालाई उत्तर बनाएर पोखें ।

यी सब हुँदै गर्दा दुईतिरै मायाको टुसा पलाएर दुई तीन पाते भइसकेको हुँदो हो । उसकै साथीसंगीहरुले मसँग उसलाई जोड्न थालेछन् रे– ‘हेर यत्तिको सोझो र इमान्दार केटो पाउँदिनस् !’

म उसलाई माया गर्छु भन्ने त म स्वयंलाई पनि कहाँ थाहा थियो र ? ऊसँग केबल पहिलो प्रेम थियो । यो बखत मसँग थुप्रै अनुत्तरित प्रश्नहरु थिए । प्रेम के हो ? सम्बन्धहरु के हुन् ? परिवार के हो ? समाज के हो ? यी सबै प्रश्नहरुको उत्तर उसैले मलाई दिलाई ।

विस्तारै हाम्रा कार्यालयका दिनचर्याहरु डेटिङ्गतिर सर्न थाले । त्यसपछि त यस्तो हुन थाल्यो कि, हामी बाँचेका शहरका सबै पार्क, चोक, चौतारी, रिसोर्ट, अनि खोलाखोल्सासम्मले हामीलाई चिन्न थाले । काम नहुँदा कमलामाईसम्म गएर दुवै पौडी खेल्नेसम्मको सामीप्यताले हामीमाथि राज गर्न थाल्यो ।
०००
२४ घण्टामा १० घण्टाजत्ति ऊ मेरै वरिपरी हुन्थि । तर म अतृप्त हुन्थें । म उसलाई २४सै घन्टा वरिपरी खोज्थें । म उसलाई मलाई गिज्याइरहेको, मसँगै बसिरहेको, मेरै कुरा गरिरहेको रुपमा देख्न चाहन्थें । तर, समय र परिस्थिति यस्तो हुन्थ्यो– ऊ एकछिन घर ढिलो हुँदा बा–आमाको अगाडि स्पष्टीकरण दिनुपर्थ्यो । ऊ परिवारकी कान्छी छोरी, मध्यम परिवार भएपनि पुल्पुलिएर हुर्किएकी । त्यसको मतलब उसले दुःख नबुझेकी हैन ।

‘हेर ! यसरी जीवन कहाँ चल्छ, सधैं हेराहेर गरेर, टाँस्सिएर मात्रै जीवन चल्दैन, केही गर्नुपर्छ । भोलिको लागि पनि बाँच्नुपर्छ । मलाई लगेर कहाँ राख्छौ ?’ एकदिन मायामिश्रित उसका प्रश्न अनि प्रतिक्रियाले मलाई साँच्चै नै खिन्यायो ।

हो म उसलाई असाध्यै माया गर्थें, उसैसँग जीवन बिताउने सपना सजाएको थिएँ । चलचित्रको कथाजस्तै थियो– हाम्रो माया । म ऊभित्र हराउन चाहन्थें, मभित्र भएको ऊप्रतिको एक आकाश स्नेह उसैको लागि पोखाउन चाहन्थें । सपना त यो पनि थियो– एउटा स्वर्गजस्तै सानो घर होस्, जहाँ म अनि उ रहौं ।

उसका गम्भीर कुराहरुलाई मैले जत्तिसक्दो आलटाल गर्नलाई मभित्रको उसलाई पाउने आशक्तिले सिफारिस गरिरहेको थियो । ‘सोचेको छु, यसरी चल्दैन जीवन । पर्ख न केही समय, बिहे गरौंला, तिमी पनि काम गर्छौ, म पनि गर्छु । तिमीले साथ दिएसम्म म कहिल्यै हरेस खान्नँ ।’ मैले प्रत्यूत्तरमा भने ।

‘एक कान दुई कान मैदान’ हुन थाल्यो हाम्रो प्रेम । शहरबजार, अफिस सबैतिर चर्चा हुन थाल्यो । साहुले पनि सोध्न थाल्यो । काममा कडाई गर्न थाल्यो । दुवैले हल्लाहरुलाई पचाउँदै गयौं । साथी सर्कलहरुले पनि हामीलाई ‘आदर्श जोडी’ भन्न थाले ।

उसकै आँट र भरोसामा बचत गर्न थालें, यहाँसम्मकी उसकै नाममा खाता खोलेर बचत गर्न थालें । साइकलमा हिँड्ने म उसकै हौसलाले आफ्नै कमाईमा मोटरसाइकल चढेर हिँड्न थालें ।

मलाई धेरै कुराहरु लाग्न थाल्यो– मेरो भनेको उसको हो, उसको भनेको मेरो, मैले बाहेक उसलाई कसैले माया गर्दैन, हामीबीच अर्कै तेश्रो व्यक्ति कहिल्यै निस्किदैँन । हाम्रो सम्बन्ध पवित्र छ । म ऊप्रति यत्ति विश्वस्त थिएँ कि, अरुको कुरा नै सुन्दिनथें ।

एक हिसाबले मलाई उनको प्रेमले पागल नै बनाएको थियो ।
०००
कहिलेकाहीँ हामीहरुबीच ठाकठुक पर्दथ्यो, कुटाकुटै नभए पनि सामान्य विषयमा पनि विवाद बढ्न थाल्यो ।

‘हेर, कुन दिन छुट्टिनुपर्ला होस् गर । भोलिको लागि सोच्दैनौं भने, म तिमीलाई साथ दिइरहन सक्दिनँ । चिनी पनि धेरै खायो भने तिताे हुन्छ ।’ कहिलेकाहीँ उसले बोल्ने यस्तो बचन मेरो मुटुमा तीर बनेर घोपिन्थ्यो ।

ऊप्रति आक्रामक बनेका मस्तिष्कले पुनः क्षणभरमै उसलाई सहर्स स्वीकार्थ्यो । मलाई उसलाई फकाउन आफ्नो जिम्मा भएको सम्झिन्थें । अनि जसरी नि फकाउँथें–सरी भनेर हुन्छ वा अरु कुनै बोली बोलेर ।

हाम्रो प्रेमको एक वर्ष हरियाली छायो । सानो घर बनाउने, उनी विदेश जाने, एउटा बच्चा पाउने सम्मका प्लानहरु निःसर्त बने ।

उसँगै जीवन बित्छ भनेर म पुलकीत भएँ । म बिहान उसलाई घरमै लिन जान्थें, बेलुकी घरछेउसम्मै छोडिदिन्थें । उसको घरमा जे पाक्थ्यो मैले चाखेकै हुन्थें । आमा, दिदी, भाइहरुसँग पनि आत्मीयता थियो ।

रिस त उसको नाकको टुप्पो मै, हरेक कुरामा रिसाउने । म उसलाई जतिखेर पनि च्यापेरै बस्न खोज्थें, एक हिसाबले म ऊसँग शारीरिक निकटता खोज्दथें । ऊ प्रेममा विश्वास ठूलो हो, शारीरिक आवश्यक्तालाई दोश्रो दर्जामा दर्ज गर्नुपर्छ भन्थिन् ।

उसको सुन्दरता अगाडि मलाई आफू फिक्का छु जस्तो लाग्थ्यो । तर पनि उसले मलाई साथ दिइरही । फरासिली स्वभावकी भएकीले होला– ऊ सँग जिस्कने र सामिप्यता खोज्नेहरुहरुको कमी थिएन । तर, उसले तिनीहरुलाई कहिल्यै बाल दिइन ।

उसलाई चाहनेहरुको हर्कत देखेर मनमनै बेस्सरी पीडा हुन्थ्यो मलाई, कहिलेकाहीँ रिसाउँथे पनि । तर, उसले मप्रति देखाएको समर्पण देखेर पुनः विश्वस्त हुन्थें । उसको र मेरो साथीसर्कलमा हाम्रो प्रेम छरपष्ट थियो । जोडी–जोडी बनाएर डेट जान्थ्यौं । ऊसँगको प्रेम सम्बन्ध कसरी दुई वर्ष भयो थाहापत्तो भएन ।

हाम्रो प्रेम दोस्रो वर्षमा चल्दै गर्दा उसको आमा गम्भीर घरायसी दुर्घटनामा पर्नुभयो । उसका हरेक सुख, दुःख मेरो हो भन्ने थियो, अस्पतालको बेडमा आमालाई भेन्टिलेटरमा राख्दा मैले मेरो आमालाई देखें । उसका सबै परिवारहरु अस्पतालमा बस्दा म पनि बसें, आमालाई बचाउन सकिएन ।

ऊ आमालाई सर्वोपरी मान्थि । असाध्यै माया गर्थि ।

गर्लम्म अंगालो हालेर उसको आँशुमा आफ्नो आँशु घुल्याउन मन भए पनि उसै गर्नमा भने म चुकें ।

कारण, समाजले उसको र मेरो सम्बन्धलाई मान्यता नदिनुनै थियो । ऊ मेरो सर्वस्व थिइ, अनि म उसको । तर, हामीले पनि खुलेर भन्न सकेको थिएनौं । ऊ भक्कानिएर रुँदा म मनमनै रोएँ ।

‘भगवान्, यो मृत्यु भन्ने चिज किन बनायौ ? के मान्छे जन्मेपछि मर्नु जरुरी छ र ? मृत्युको विकल्प अरु केही छैन ? के मान्छेको अन्तिम सत्य मृत्यु नै हो ? मर्नैपर्छ भने जन्म र मृत्युबीचको जीवन किन ? किन दुःख, पीडा, माया, प्रेम आदि इत्यादि ? मनमा अदृश्य भगवान्प्रति यस्तै अनुत्तरित गुनासाहरु यत्रतत्र उठे ।

आमाको काजक्रिया भर दिनहुँ उसको घर जान मन लाग्थ्यो, उसलाई हेर्ने, अनि सुन्निएका उसका आँखाहरुमा चुमेर ‘म छु नि’को भावमा माया देखाउन म लाग्थ्यो । तर, समाजको आलोचनाको केन्द्रमा म पर्छु भनेर डर लागेको कारण म उसै गर्न सक्दिनथें ।

तै पनि जात, धर्म, धनी अनि गरिबको नजरबाट हाम्रो पवित्र प्रेमलाई हेर्ने समाजको आँखा छलेर उसको अगाडि पर्नु मेरो कर्तव्य सम्झिन्थें । उसको निराश अनि उदास अनुहार देखेर साँच्चै पीडा हुन्थ्यो– लाग्छ, त्यो पीडालाई सम्बोधन गर्ने शब्द भण्डारमा कुनै शब्द छैन ।

०००

आमाको निधनको एक महिना पूरा भयो । एकाध पल्ट भेट गर्न गएँ । सान्त्वना दिएँ । जस्तोसुकै अप्ठेरोमा साथ दिन्छु भनेर कसम खाएँ । उनी बल्लबल्ल पीडा छिचोलेर कार्यालय आउने भइ । बिहानै घरमै लिन गएँ । आँखामा गाजल लगाएकी रैनछे । कस्तो कस्तो लाग्यो ।

‘जाने त गइसके, अब रहनेहरु पनि पीडामा बाँच्ने हो भने कसरी जीवन चल्छ भन त ? यति साह्रो हरेस खानुहुँदैन प्लिज !’

ऊ निरुत्तर भइ । उसका आँखाका कोष रसाए ।

घाउ कोट्याएर झन पीडा दिन मन लागेन ।

भोलिपल्ट, पर्सिपल्ट म उसकै अगाडि हरदम बसिरहें । उसलाई बाहिर काममा पठाउन मन लागेन । विस्तारै ऊ खुल्दै गइ । लाग्यो अब जीवन सहज हुन्छ । तर, उसमा त केही फरकपन आउन थालेको महसुस भयो । खुलेर बोल्न छोडी, डुल्न जान छोडी । म जिस्किन खोज्थें, ऊ तर्किन्थी । कार्यालयमा दुई जना मात्रै हुँदा हुने व्यवहार हराउँदै गए । अफिस पनि आफैँ आउन थाली । ‘तपाईँ धेरै घर नआउनु, मलाई गाह्रो हुन्छ । मान्छेहरुलाई नदेखाएर पनि हामी प्रेम गर्न सक्छौं नि ।’ उसको घतलाग्दो आव्हानले डर झन डरायो ।

अरुबेला उसको घरमा आधा घण्टासम्म उसलाई पर्खिँदा कसैले मतलब गर्दैनथे । अब भने, म गेटसम्म पनि जान नपाउने भएँ ।

उसको आमाको निधनपछि उसमा आएको अस्वभाविक परिवर्तनहरुले मेरो मनमा शुल गढेको थियो ।

रातभर निदाउन सक्दिनथें, खाना रुच्न छोड्यो, खाली मनमा उसले मलाई किन यस्तो गर्दैछे, किन पर–पर हुँदैछ ? मनमा तर्कना खेल्थे, मानौं मेरो मन टुँडिखेल हो ।

कतै मैले गल्ती पो गरें कि, कतै उसले अरु नै पो रोज्दैछे कि ? केबल तर्कना खेले । तर, म मेरा भावनाहरु कसैलाई व्यक्त गर्न सक्दिनथें । साथीभाइहरु मभित्रको उदासी र बेचैनीसँग धेरथोर परिचित भएका हुँदा हुन् । तर, उसकै कारण हो भन्ने भान मैले कहिल्यै दिइनँ ।
०००
‘आज तिमी आएनौ भने मलाई सदाका लागि गुमाउनेछौ ।’ एक हप्ताको उनको कार्यालयको अनुपस्थितिपछिको मेरो पहिलो मैले भनें ।

हुन त ऊसँगको सम्बन्धमा यस्ता घुर्की लाउने र लगाउने काम पनि उस्तैउस्तै हुन्थे । तर, त्यसदिन म विच्छिप्त भएर फोन गर्दै थिँए ।

मेरो घुर्कीमा उसको भनाइ थियो–‘हुन्छ, म आउँछु ।

तर, एक घन्टाको लागि मात्र ।’ एक हप्तादेखि देख्न नपाएको मैले नाईं भन्ने कुरै भएन । आदि बाटोसम्म लिन गएँ ।  मोटरसाइकलमा अरुबेला मसँग टास्सिएर बस्थी, आज छुइन्छकि जस्तो गरी बसेको अनुभव भयो । अफिस नआइपुगुन्जेल बोलचाल भएन ।

‘आजकल तिमी धेरै चेन्ज भइरहेछौ, बोल्दिनौ पनि ?’ कार्यालयभित्र पस्नेबित्तिकै मेरो मुखबाट फुत्कियो ।

‘हैन, केही भाको छैन ।’ न्याउरो मुख लगाएर बसेकी उसले भनिन् ।

जबरजस्ती उसको मुखबाट निस्किएको जवाफले चित्त भरिएन ।

‘तिम्रो मनमा केछ, खुलस्त भन, यदि मेरो कारणले तिमीलाई अप्ठेरो भइरहेको छ भने तिमी स्वतन्त्र छौ । हैन भने अब विवाह गरौं ।’ उसको जवाफ आएन । मैले यस अघि पनि धेरै पटक विवाहको कुरा गरेको थिएँ । उसले आफ्नो खुट्टामा उभिन सक्ने भएपछि भन्ने जवाफ दिएकी थिइ ।

‘प्लिज केही त भन, मबाट गल्ती भयो भने पनि भन न तर, यसरी नबोली नबस ।’ उसको हात र कपाल खेलाउँदै मैले भनें ।

ढुंगा बोल्ला ऊ बोलिन । तर, उसको आँखाभरी आँशु भरियो । अँगालोमा बेर्न खोजें, तर्किइ । ‘तिमीसँग टाढिनु मेरो रहर हैन, बाध्यता हो ।’ सुक्सुकाउँदै भनी ।

म अवाक् भएँ, मेरो बोली रोकियो, एक्कासी मुटुमा बज्र परेजस्तै भान भयो । अलिक आक्रामक बोलीमा सोधें–‘तिमी के भन्दैछौ, कसले बाध्य बनायो ?’

‘म अब यो समाज र परिवारसँग लड्न सक्दिनँ, केही समय टाढा भएर बस्दा दुवैलाई फाइदा होला । म पनि खुट्टा टेक्छु, तिमीपनि केही गर, यत्तिकै जीवन जिउन सकिन्न ।’ उसले एकै स्वासमा भनी ।

म केही बोलिनँ । बोल्नु पनि केही बाँकी थिएन । मैले टेकेको धर्ती हल्लियो । चारैतिर अँध्यारो भयो । थचक्क कुर्सीमा बसें ।

उसले घर पुर्याइदिनु भनी । मैले एकछिन बस न भनें । ‘नाई, तिम्रो मात्रै कति कुरा मान्नु, मलाई किन बुझ्दैनौं, किन ?’ उ भक्काइन् ।

–अमित कठायत

क्रमसः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *