‘रामेछाप कप फुटसल प्रतियोगिता–२०७६’ काठमाडौँमा, २७ टीम सहभागी

आसोज ४, काठमाडौँ । ‘रामेछाप कप फुटसल प्रतियोगिता–२०७६’ शनिबार हुँदै छ । काठमाडौँको शान्तिनगर फुटसल मैदानमा आयोजना हुने प्रतियोगिता २७ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
रामेछाप काठमाडौँ–पत्रकार समाजले आयोजना गरेको रामेछाप कप फुटसल प्रतियोगिता लिगकम नटआउटका आधारमा हुने र एक टीममा १० जनासम्म खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा रामेछाप जिल्ला घर भई काठमाडौँ आएर बसेका विभिन्न पेशा व्यवसाय ताथा संघसंस्थामा आबद्ध व्यक्तिहरु सम्मिलित समुह, क्लब तथा राजनीतिक संगठनको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता टीमलाई ट्रफीसहित प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्लाबासीहरुबीचको एकता, सद्भाव र भाइचारालाई थप प्रगाढ बनाउने उद्देश्यले ‘रामेछाप कप फुटसल प्रतियोगिता–२०७६’ आयोजना गरिएको आयोजक संस्था रामेछाप–काठमाडौँ पत्रकार समाजका अध्यक्ष प्रेम गौतमले जानकारी दिए । प्रतियोगिता सम्पन्न भएको केही दिनपछि रामेछापबासी विभिन्न व्यक्तिहरुबीच चियापान कार्यक्रमको आयोजना गर्ने तायरी भइरहेको पनि अध्यक्ष गौतमले बताए ।









