दिल्ली उडे प्रधानमन्त्री

 

                                                                                 फाइल तस्विर 

जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो नयाँ  दिल्ली प्रस्थान गरेका छन् ।  

null

भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली आज (बिहीबार) दिउँसो १ः३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत् दिल्ली प्रस्थान गरेका हुन् । 

विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरुले उनलाई बिदाई गरेका थिए ।  

त्यहाँ पुगेर प्रम ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेसमा बस्ने जानकारी दिइएको छ । 

पछिल्लोपटक प्रधानमन्त्री बनेयता ओलीको यो दोस्रो भारत भ्रमण हो । दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले २०७४ चैत अन्तिम साता भारतको औपचारिक भ्रमण गरेका थिए । 

प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति भवनमा हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट हुनेछ। त्यसैगरी समकक्षी मोदीसँग पनि छलफल हुने जानकारी दिइएको छ । 

प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। 

दोस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा रहेका नरेन्द्र मोदी पनि सपथग्रहणको एक महिनापछि नेपाल आउने कार्यक्रम छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर-जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् । 

मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी समेत भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । यसअघि मोदी आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका छन् । 

नरेन्द्र मोदीको सपथ ग्रहण ३० मे साँझ ७ बजे राष्ट्रपति भवनमा हुँदैछ । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । 

सोही समयमा प्रधानमन्त्रीको मन्त्रिपरिषद्का सहयोगिहरुलाई पनि सपथ दिलाइनेछ । 

यस पटकको सपथ ग्रहण समारोहमा भने बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । पाकिस्तानलाई भने भारतले निमन्त्रणा पठाएको छैन । 

बालाकोट सर्जिकल स्ट्राइक बाहेक ओआईसीले पहिलो पटक भारतलाई आफ्नो बैठकमा आमन्त्रित गरेको थियो । यसको विरोधमा पाकिस्तानले उक्त बैठक बहिस्कार गरेको थियो । २०१४ मा मोदी सरकारको सपथ ग्रहण समारोहमा पाकिस्तानसहित सार्क राष्ट्रका राष्ट्राध्यक्ष सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =