ऐतिहासिक कार्यभारलाई पूरा गर्नेछौँः नारायणकाजी श्रेष्ठ

माघ ९, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट विजयी भएका नारायणकाजी श्रेष्ठले पार्टीको विचार र निर्देशनलाई केन्द्रविन्दुमा राखेर देशको ऐतिहासिक कार्यभारलाई पुरा गर्ने बताएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा विजयी भएपछि नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले यस्तो बताएका हुन् ।
‘आजको हाम्रो ऐतिहासिक कार्यभार भनेको आर्थिक क्रान्तिलाई सफल पार्नु र सामाजिक न्याय सहित समृद्धिको लक्ष्यसहित हो । संविधानले निर्दृष्ट गरेअनुसार समाजवादको आधार तयार पार्नु हो । त्यो कार्यभारलाई पूरा गर्न मेरो तर्फबाट, हामी निर्वाचितहरुको तर्फबाट सम्पूर्ण प्रयत्न गर्नेछौं’, उनले भने ।

नेपालमा राजनीतिक संघर्षको एउटा अध्याय पूरा गरेर लोकतन्त्र स्थापना गरेको र लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गरेर नयाँ संविधान मार्फत त्यसको कार्यान्वयनको प्रक्रिया अगाडी बढाइएको पनि उनले बताए ।
आज सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी भए । नेपाली कांग्रेसका सुर्यप्रसाद रेग्मीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ३४६२ मत ल्याउँदा कांग्रेसका रेग्मीले २२४४ मत प्राप्त गरे ।








