विमानस्थलको विस्तारका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गर्ने

पुस १७, विराटनगर । विराटनगर विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।
सरकार गठनदेखि नै विराटनगर विमानस्थललाई अन्तर प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको प्रदेश सरकारले कामले तीव्रता नपाएपछि प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको हो ।
null
नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण संकलन गरेको जानकारी दिँदै आगामी साता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग सो विषयमा छलफल गरी निर्णय गरिने बताए ।
उनले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्ब २५० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने समेत बताए । विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिने उनले बताए ।
उनका अनुसार विमानस्थलबाट प्रदेशका १३ स्थान लगायत पोखराका लागि उडान चाँडै सुचारु गरी विमानस्थलमार्फत् स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।
कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तरदेशिय विमानस्थलको रुपमा विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गरिने बताए । विराटनगर विमानस्थल २०२५ सालबाट सञ्चालनमा आएको हो ।








