नाकाबन्दीका डिजाइनर भारतमा विदेशमन्त्री बनेपछि नेपालमा तरङ

जेठ १७, काठमाडौं । भारतका प्रमुख रणनीतिकार मानिने पूर्वविदेश सचिव एस जयशङकर मन्त्री बनेपछि नेपालमा बहस चुलिएको छ । जसको डिजाईनमा भारतले नाकाबन्दी लगाएको थियो, उनै व्यक्ति मन्त्री बनेपछि आउँदा दिनमा दुई देशविचको सम्बन्ध कस्तो होला भन्नेमा बहस चलेको हो ।
दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूतको हैसियतमा काठमाडौं आएका जयशङकरले संविधान जारी गर्ने मिति पर धकेल्न नेपालका नेताहरुलाई दवाव नै दिएका थिए । तत्कालीन विदेश सचिव हालका विदेशमन्त्री जयशङ्करलाई अघोषित नाकाबन्दीका योजनाकारमध्येका एक मानिन्छ ।
null
नेपालका तत्कालीन सरकार तथा विपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गर्दै संविधान जारी गरे । जयशंकर भारतको चाहना अनुरुपका विषय संविधानमा लेखाउने चाहना अनुसार संविधान घोषणा मिति केही पर धकेल्न आएका थिए । जुन प्रस्ताव नेपालका ठूला दलका नेताहरुले अस्विकार गरेपछि, रुष्ट बनेको भारतले नेपालमाथि ६ महिना बढि अघोषित नाकाबन्दी नै लगायो । नेपालका तराई केन्द्रित दलहरू संविधानका कतिपय विषयवस्तुमा असहमति जनाउँदै आन्दोलन गरिरहँदा उनीहरुलाई देखाउँदै भारतले नाकाबन्दी लगाएको थियो ।
मधेश केन्द्रित दललाई भारतले आफ्नै भुमीमा राखेर समेत आन्दोलन गराएको थियो । आन्दोलनको क्रममा एक जना भारतीय नागरिकको समेत मृत्यूभएपछि तराई केन्द्रित दलको आन्दोलनमा भारतले समेत आफ्ना नागरिक पठाएको पुष्टि भएको थियो ।
सो समयमा एकातिर विनाशकारी भूकम्पपछि नेपालले उठ्ने कोशिष गरिरहेको थियो भने, अर्कातिर तराई मधेशमा हिंसात्मक आन्दोलन भईरहेको थियो । त्यसबेला नेपालमा असन्तुष्ट पक्षलाई प्रयोग गर्दै आन्दोलन चर्काउने र उताबाट अत्यावश्यक बस्तुहरु रोक्ने योजना बनाउदै सफल प्रयोग गरेका उनै जयशंकर मन्त्री बनेपछि नेपालका नेता, विश्लेषक, बुद्धिजीवी, पत्रकारलगायतले विभिन्न टिकाटिप्पणी गरेका छन् ।
राजनीतिक दलका नेतादेखि पूर्वप्रशासक र सर्वसाधारणसम्मले त्यसबारे सामाजिक सञ्जालमा चिन्ता र चासो व्यक्त गर्न थालेका छन् । पुनः जयशंकरले नेपालमा नाकावन्दी लगाउने वा त्यस्तै खाले रणनीति अपनाउने त हैनन् आशंका ब्यक्त गरेका छन् ।
समाजबादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजीक सञ्जालमा जयशंकर बिदेशमन्त्री बन्दा आगामी दिनमा नेपाल र भारतको सम्बन्ध कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको बताएका छन् । उनले भनेका छन् ‘नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देश वीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ । दुवै पक्षले पाठ सिकेर अघि बढौं ।’
जयशङ्कर मन्त्री भएको विषयलाई नेपालमा आवश्यकताभन्दा बढी नै चासो दिइएको भारतका लागि नेपालका एकजना पूर्वराजदूत लोकराज बरालको ठम्याइ छ । उनी भन्छन, ‘एस जयशङ्कर विदेशमन्त्री भएमा पनि भारतको अहिलेकै नेपाल नीतिले निरन्तरता पाउँछ र हुने भए पनि अलिअलि परिवर्तन होला जस्तो मलाई लाग्छ ।’
भारतीय मामिलाका जानकार पत्रकार युवराज घिमिरे पूर्वविदेश सचिव जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा प्रस्तुत गर्नुको कुनै तुक देख्दैनन् । घिमिरे भन्छन्, ‘उनी भारत सरकारका विशेषदूतका रूपमा आफूलाई अह्राइएको काम लिएर नेपाल आएका थिए । त्यसैले जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा चित्रित गर्नुको अर्थ छैन ।’
नेपाल–भारत सम्बन्धलाई नजिकबाट हेर्नेहरुले एस जयशंकरले मात्रै विदेशनीति परिवर्तन गर्न नसक्ने बताइरहँदा नेपाली जनताहरु भने भारतीय नाकावन्दीलाई झल्झल्ती सम्झँदैछन् ।
भारतमा सम्पन्न निर्वाचनमा अत्याधिक बहुमत हासिल गरेर पुनः सरकार गठन गरेका नरेन्द्र मोदीले जयशङ्कर लाई पुनः विदेशमन्त्री नै बनाउनुमा सड्यन्त्र छ कि संयोग मात्र हो आगामी कार्यकालले दखाउला । तथापि, जयशंकरको सपथ ग्रहणसँगै नेपाली राजनीतिमा उनको चर्चा चुलिएको छ ।








