वैदेशिक रोजगारीमा जाने महिलालाई ठग्ने एक पक्राउ

काठमाडौँ,साउन १ । वैदेशिक रोजगारीको नाममा महिलालाई दुबई हुँदै ओमन पुर्याउने दलाललाई प्रहरीले पक्रेको छ ।

महिलालाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर अवैध रुपमा घरेलु काममा पठाउने सिन्धुपाल्चोकको बाँसखर्कका सुनिल कुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्रेको हो ।

उनले मासिक ३० हजार रुपैयाँसम्म कमाई हुन्छ भन्दै दुबई हुँदै ओमन पुर्याएका थिए ।

ओमनमा आफूलाई शारीरिक तथा मानसिक यातना दिई २१ महिना सम्म चरम यातना पाईरहेको अवस्थामा नेपाली राजदुतावासको सहयोगमा ती महिला नेपाल फर्किएकी थिइन् ।

नेपाल फर्किएपछि उनले प्रहरी समक्ष उजुरी दिएकी थिइन् । घटनामा संलग्न मकवानपुरको हेटौंडा घर भई ललितपुर सातदोबाटो बस्ने ५३ वर्षका राजेन्द्र बाँनिया २०७४ सालको जेठ २९ गते पक्राउ परेका थिए ।

फरार रहेका तामाङलाई प्रहरीले काठमाडौंको शंकरापुराबाट पक्राउ गरी मंगलबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =