‘नेपाललाई समृद्ध र विद्वानहरुको देश भनेर परिचित गराउन चाहन्छौँ’

फागुन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट मुलुकमा गरिबी हटाउने नयाँ अभियान थालिएको बताएका छन् ।
बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा नै रोजगारीको अवसर सृजना गरी गरिबी हटाउने बताएका हुन् ।
‘आज हामीले नयाँ अभियान प्रारम्भ गरेका छौँ । रोजगारी सम्बन्धी अभियान । सबैले समुचित रोजगारी पाउने हो भने नेपालको ठूलो समस्या बेरोजगारी र गरिबी रहने थिएन । हट्ने थियो । अब हामी देशमा गरिबी हटाउने अभियानमा लागेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।
null
उनले अब नेपालको पहिचान बदल्ने दाबी गर्दै भने, ‘हामी नेपाललाई परिवर्तन गर्न चाहन्छौँ, रुपान्तरण गर्न चाहन्छौँ । गरिब देशलाई समृद्ध देश, अनपढहरुको देशलाई विद्धानहरुको देश, पछाडि परेको यो देशलाई अगाडी बढेको देश, अल्पविकसितलाई विकसित भनेर हामी यसको परिचय, पहिचान बदल्न चाहन्छौँ ।’
प्रम ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै वीर गोर्खाली, विद्वान पुर्खा तथा ऋषिमुनिहरुको देश भनेर परिचित नेपालमा भ्रष्टाचार र अपराधको स्थिति हेर्दा शिर झुक्ने अवस्था रहेको बताए । ‘अब हामीले वयस्क नेपालीले अपराध गर्दैन । कानून तोड्दैन भन्ने विश्वव्यापी मान्यता र परिचय स्थापित गर्नुपर्छ ।’
कष्टपूर्ण संघर्ष र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको उल्लेख गर्दै उनले यस प्रणालीले हरेक नेपालीलाई शिक्षित मात्रै होइन सुशिक्षित, स्वस्थ र आत्मनिर्भर बनाउने दाबी गरे ।
नेपाललाई संसारको एउटा शुसभ्य नैतिकवान, शान्त समृद्ध देश बनाउन पर्नेमा उनको जोड थियो । । समृद्ध नेपालका निम्ति अनेक प्रयासहरु अगाडी बढाएको जानकारी गराउँदै उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई कार्यान्वयनमा ल्याउनका लागि अनेक प्रयासहरु अगाडी बढाउनुपर्नेछ । थुप्रै प्रयासहरु हामीले अगाडी बढाएका पनि छौँ । जीवनबिमा, सामाजिक सुरक्षा, कृषिको आधुनिकिकरणका प्रबन्धहरु अगाडी बढाएका छौँ । त्यसै अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम एउटा नयाँ प्रयास हो ।’
उनले यसै प्रयासबाट कृषि, पर्यटन, उद्योग, आइटी सेक्टर, सञ्चार लगायतका क्षेत्रहरुमा रोजगारीका अवसरहरु सृजना गर्ने बताए ।








