प्रधानमन्त्री ओलीको चीन भ्रमणः के–के परे त हाइलाइटमा ?

“
काठमाडौँ, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमण जाने भएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देश बीच विभिन्न सम्झौताहरु हुन सक्ने बताइएको छ । विशेषत प्रम ओली चीन भ्रमणमा जाँदा इनर्जी कोअर्डिनेशन, गल्छी–केरुङ–रसुवागढी अन्तरदेशीय प्रशारण लाइनको डीपीआर निर्माण लगायतको सहमति गर्ने तयारीमा सरकार रहेको बताइएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले चीनसँग ऊर्जा समन्वय सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । मन्त्रालयले चिनियाँ सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गरेर इनर्जी कोअर्डिनेशन को फाइल अघि बढाएसँगै चीनसँग सम्झौता निश्चित हुने भएको हो ।
मे २०१७ मा तत्कालिन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन जाँदा ‘इनर्जी कोअर्डिनेशन’बारे प्रारम्भीक सम्झौता भइसकेको छ । त्यही सम्झौतालाई प्रधानमन्त्री ओलीको आसन्न भ्रमणका क्रममा अन्तिम सम्झौता गर्न खोजिएको हो ।
ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला चीनलाई अन्तरदेशीय प्रसारणलाइनबाट जोड्ने सहमति गरेका थिए । त्यसअनुसार केरुङ रसुवागढी हुँदै धादिङको गल्छीसम्म जोड्ने ४ सय केभी प्रसारणलाइनको सम्भाव्यता अध्ययन गरिसकिएको छ । अब डीपीआर निर्माणको काम बाँकी छ ।
चीनले केरुङबाट रसुवागढी हुँदै गल्छीसम्म आउने प्रसारणलाइनलाई हाई भोल्टेज डाइरेक्ट करेन्ट (एचभीडीसी) अर्थात सुपर हाईवे मोडलको निर्माण गर्ने प्रस्ताव गरेको छ ।
ऊर्जा मन्त्राललयले जलविद्युततर्फ ४५० मेगावाटको किमाथाङ्का अरुण, ७६२ मेगावाटको तमोर, १ हजार ११० मेगावाटको सुनकोशी–२ र ५३६ मेगावाटको सुनकोशी–३ लाई ओबरमा राख्न आग्रह गरेको छ । यस्तै ४१० मेगावाटको नलगाड, ४२६ मेगावाटको फुकोट कर्णाली र २४५ मेगावाटको नौमुरे पनि सूचीमा राख्न प्रस्ताव छ ।
त्यस्तै पिकिङ रन अफ दि रिभरमा आधारित किमाथाङ्का अरुण आयोजनाको पनि अध्ययन अघि बढाइएको छ ।
ऊर्जा मन्त्रालयले सिँचाइतर्फ चार आयोजना प्रस्ताव गरेको छ । पाँचखाल भ्याली लिफ्ट सिँचाइ परियोजना, सुनकोशी मरिन बहुउद्देश्यीय परियोजना, पूर्वी तराई नदी व्यवस्थापन आयोजना र पहाडी भेग लिफ्ट टार सिँचाइ आयोजना ओबरमा राख्न प्रस्ताव गरिएको हो । सिँचाइ विभागले अहिले पाँचखाल भ्याली लिफ्ट सिँचाई परियोजना र सुनकोशी मरिन बहुउद्देश्यीय परियोजनाको भने बिस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्दैछ ।
“








