सुबिधाजनक सहरका वडा सचिवले नै जान्दैनन् कम्प्यूटर चलाउन

“
धरान, जेठ २१ । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसक्दा पनि सुनसरीको धरानमा स्थानीय तहले अपेक्षा अनुसारको काम गर्न सकेका छैनन् । चुनावी समयमा गरेका प्रतिबद्धता र आश्वासन अनुसार काम गर्न नसकेको भन्दै स्थानीयले गुनासो समेत गर्न सुरु गरेका छन् ।
अनेक नाराबाजी र दर्जनौँ वाचा गरी जनतालाई पक्षमा लिएका जनप्रतिनिधिले सोही अनुरुपको काम गर्न नसकेपछि स्थानीयको गुनासो देखिन थालेको हो ।
१२ ओटा स्थानीय तह रहेको सुनसरीमा एक वर्षको अन्तरालमा कुनै रचनात्मक र प्रशंसनीय काम देखिन कठिन नै भएको सर्वसाधारणहरुको भनाइ छ । जुन पछिल्लो उदाहरणहको रुपमा १ नं प्रदेशका सुन्दर सफा सहरको रुपमा उपमा पाएका धरान उपमहानगरपालिकालाई लिन सकिन्छ ।
धरान उपमहानगरपलिका वडा नम्बर ६ को वडा समितिको कार्यालयमा सरुवा भएर गएका नयाँ वडा सचिवले कम्प्यूटर चलाउन नजानेपछि वडामा रहेका ९ हजार सेवाग्राही समस्यामा परेका छन् ।
धरान उपमहानगरले हरेक काम डिजिटल प्रणाली मार्फत् गर्ने उद्घोष गरे पनि कर्मचारीहरु भने कम्प्यूटर चलाउन नजाने पछि सेवाग्राहीले कम्प्यूटर प्रणालीमा सेवा लिन पाएका छैनन् ।
धरान –१३ बाट सरुवा भएर गएका वडा सचिव नारायण श्रेष्ठ धरान–६ पानबारीको वडा समिती कार्यालयमा सरुवा भएर गएको भएपनि श्रेष्ठले कम्प्यूटर प्रणालीबाट सेवा दिन नसकेपछि वडा समितिको दैनिक कामकाज हुन नसकेको वडाध्यक्ष भुवनसिंह वस्नेतले जानकारी दिएका छन् ।
वडा समितिमा आईतबार मात्रै गएका वडाध्यक्ष बस्नेतले काम गर्ने अधिकार दिए पनि श्रेष्ठले कम्प्यूटर प्रणालीबाट काम गर्न नसकेपछि सेवा अवरुद्ध भएको हो ।
कार्यालयमा दैनिक जसो जन्म दर्ता, मृत्यु दर्ता, जग्गाको नामसारी जस्ता काम लिएर आउने सेवाग्राही वडा समितिको सेवा कम्प्यूटर प्रणालीमा सञ्चालन गरिँदै आए पनि वडा सचिवले नजाने पछि सेवाग्राही त्यतिकै फर्किएका छन् ।
एक महिनाको अवधीमा ३ जना वडा सचिव फेरबदल हुँदा वडा समितिको कामकाजमा समेत समस्या हुन थालेको छ । उता धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सचिव फेरबदल भएकाले वडा समितिको सेवाग्राहीलाई केही असुविधा भएको र समस्या भएका वडा समितिहरुमा चाँडै समस्या हल गरिने बताएका छन् ।
साविकको पाँचकन्या गाबिस हुँदा देखि नै सो क्षेत्रमा वासिन्दाहरुले कम्प्यूटर प्रणालीबाट सेवा लिएका थिए ।
विस २०४९ सालदेखि पाँचकन्या गाविस सचिव एकनाथ नेपालले कम्युटर प्रणालीबाट सेवा शुरु गरेका थिए । त्यस्तै हालका वडा समिति कार्यालय धरान पानबारीले गाविसहरु मध्ये नेपालमा नै पहिलो पटक कम्प्यूटर प्रणालीबाट सेवा शुरु गरेको दाबी गरेको छन् भने धरान उपमहानगरपालिकामा जनप्रतिनिधी आएपछि धरान वडा नम्बर १७ र वडा नम्बर ४ मा कम्युटर प्रणालीबाट सेवा शुरु गरेका छन् ।
“








