दिल्ली पुगे प्रधानमन्त्री, मोदीको सपथमा सहभागी हुँदै

जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली पुगेका छन् ।
भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली आज (बिहीबार) दिउँसो १ः३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत् करिब दिउँसो ३ बजे दिल्ली पुगेका हुन् ।
null
प्रम ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायतको टोली रहेको छ।
ओलीलाई भारतको विदेश मन्त्रालयका अधिकारी र नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले स्वागत गरेका थिए ।
भारतीय समय अनुसार बेलुकी ७ बजे शपथ हुँदैछ। यस पटकको सपथ ग्रहण समारोहमा भने बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । पाकिस्तानलाई भने भारतले निमन्त्रणा पठाएको छैन ।
सपथपछि ओली भारतका राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम छ।
ओली र मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुने बताइएको छ। ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ।
पछिल्लोपटक प्रधानमन्त्री बनेयता ओलीको यो दोस्रो भारत भ्रमण हो । दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले २०७४ चैत अन्तिम साता भारतको औपचारिक भ्रमण गरेका थिए ।
दोस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा रहेका नरेन्द्र मोदी पनि सपथग्रहणको एक महिनापछि नेपाल आउने कार्यक्रम छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर-जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् ।
मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी समेत भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । यसअघि मोदी आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका छन् ।








