वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीसहित ३३ जना दोषी ठहर (नामावलीसहित)

पुस १८, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री र बहालवाला पर्यटनमन्त्रीसहित ३३ जनालाई कारवाहीको सिफारिस गरिएको छ ।
छानबिन उपसमितिले बुधबार लेखा समितिलाई प्रतिवेदन बुझाउँदै वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दुई जना पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीसहित ३३ जनालाई दोषी ठहर गरेको हो ।
null
छानबिन उपसमितिले सुरुदेखि नै विमान खरिदमा आफू निर्दोष रहेको दाबी गर्दै आएका मन्त्री अधिकारीलाई पनि भ्रष्टाचारमा मुछेको छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएका कारण उनलाई कारवाही सिफारिस गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
साथै आफ्नो कार्यकालमा भुक्तानी नदिएको र अध्ययन गर्छु भनेर औपचारिकतामा मात्र कार्यदल बनाएको, महालेखाको परामर्श लिएर रकम भुक्तानी दिएको भनेर ढाँटेको पनि आरोप छ ।
उपममितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ ।’
मन्त्री अधिकारीले पटक पटक आफ्नो कार्यकालमा कुनै भुक्तानी नदिएको भन्दै आएका थिए। पछिल्लो समयमा महालेखा परीक्षक टंकमणि शर्मासँग अनौपचारिक परामर्श लिई अन्तिम किस्ता रकम भुक्तानी दिएको स्वीकार गरेका थिए।
त्यस्तै उपसमितिले सार्वजनिक खरिद ऐन–०६३ विपरित अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि सतर्क नगराएको र बैना रकम प्रदानको निर्णय गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री जीवन बहादुर शाही दोषी ठहर गरेको हो ।
वाइडबडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले काँग्रेस सांसद राजन केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको उल्लेख गरिएको छ । यो रकम बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
उपसमितिले अन्य पदाधिकारीहरूः टेकराज आचार्य, बुद्धिसागर लामिछाने, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, सुगतरत्न कंसाकार, प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुंगाना, महेश्वर न्यौपाने, सूर्यप्रसाद आचार्य, जिवनप्रकाश सिटौलालाई पनि दोषी ठहर गरेको छ ।
त्यस्तै अच्युतराज पहाडी, सुरेश आचार्य, कृष्णप्रसाद देवकोटा, रमेशबहादुर शाह, रामहरी शर्मा, अच्युतराज पहाडी, पारस पौडेल, प्रभाषकुमार कर्माचार्य, जनकराज कालाखेती, श्रवण रिजाल, पुष्पलाल पोते, बृहतमान तुलाधर, गणेशबहादुर चन्द, रविन्द्रबहादुर शेरचन, कर्णबहादुर थापा, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल,उमेश पौडेल, युवराज अधिकारी पनि वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहरिएका छन् ।
दोषी सबैलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न निर्देशन दिइएको छ ।








