मुसहरबस्ती व्यवस्थापन कार्य सुरु

चितवन, १९ असार । चितवनको रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीस्थित मुसहरबस्तीेको व्यवस्थापन कार्य सुरु भएको छ । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहरी गरिब सहयोग कोषमार्फत बस्ती व्यवस्थापन कार्य सुरु गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ । स–परिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यता रहेको मुसहर समुदायको बस्तीमा अहिले धमाधम नयाँ घर बन्दै छ । कतिपय नयाँ घरमा सरिसकेका छन् भने कतिपयको घर निर्माण तीव्र भइरहेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्यले बताउनुभयो ।

नगरपालिकाको रु ३० लाख र लुमन्तीको रु ३० लाख गरी कुल रु ६० लाखको लागतमा यहाँ सहरी गरिब सहयोग कोषमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । सोही कोषको रकमबाट ऋण अनुदानमा उनीहरुको घर बन्न थालेको आचार्य बताउनुहुन्छ । यहाँ बसोबास गरिरहेका मुसहर र माझी समुदायका लागि २२ घरको निर्माणको काम चलिरहेको छ । तीमध्ये आठवटा घरको निर्माण कार्य सम्पन्न भइसकेको र अन्य घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मुसहर समुदायका लागि निर्माण हुने सो घरमा दुई वा तीन कोठा छन् । रु दुई लाख ऋण लिएका मुसहरले रु १२ लाखसम्मको लागतमा घर निर्माण गरेका छन् । कसैले रु दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले बताउनुभयो ।

उनीहरुले लिएको ऋण मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट सहयोग पाएर घर बनाउन पाउँदा खुसी भएको स्थानीय बास्मती मुसहरको भनाइ छ । चित्रसेन मध्यवर्ती सामुदायिक वनले उनीहरुका लागि शौचालय निर्माणमा केही रकम सहयोग गरेको छ । पानी जम्ने उनीहरुको बस्तीमा अहिले ग्राभेल हालेर सडक व्यवस्थापनको कामसमेत भएकाले अब भने सहज हुने स्थानीय बलिराम मुसहरले बताउनुभयो । मासिक रु पाँच हजारका दरले चार वर्षमा पैसा तिर्दा उनीहरुले तिर्नुपर्ने किस्ता सकिनेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *