नेपालसँग भारतीय टिम पराजित

“
कार्तिक २६, काठमाडाैं । नेपाल यु-१९ राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र भारतको यु-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ । मलेसियामा जारी यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले दोस्रो इनिंगमा मात्र १६६ रन बनाएपछि नेपालले खेल १९ रनले जितेको हो ।
नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको यो नै पहिलो पटक हो । भारतीय टिम पूर्व स्टार भारतीय क्रिकेटर राहुल द्रविडको प्रशिक्षणमा रहेको छ । नेपाली यु-१९ टिमले यो भन्दा अघि बङ्गलादेश, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ ।
नेपालले गत हप्ता मात्रै बङ्गलादेशलाई मैत्रीपूर्ण सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको थियो । दोस्रो इनिंगमा लक्ष्य पछ्याउने क्रममा नेपाली टाेलिका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सर्वाधिक ४ विकेट हात पारेका थिए । यस्तै पवन सर्राफले कसिलो बलिंग गर्दै १० ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे ।
४८.१ ओभरमा अन्तिम विकेट दिलाएका शाहब आलमले २ विकेट लिने क्रममा ४.१ ओभरमा ११ रन खर्चिएका थिए । सन्दिप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट तथा कमल सिंह ऐरीले पनि १/१ विकेट आफ्नो नाम गरेका थिए ।
भारतीय ओपनर ब्याट्सम्यान हिमांशु रानाले ४६ तथा अर्का ओपनर मन्जोत कालराले ३५ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर, हमंशुलाई कमल सिंह ऐरीले पेभेलियन फर्काएपछि भारतको विकेट पतन सुरु भएको थियो ।
पहिलाे व्याटिङ गरेकाे नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट इनिंग खेल्ने क्रममा ८८ रनको योगदान समेत दिएका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नेपाललाई राम्रो स्कोरतर्फ डोर्याएका थिए । टेस्ट राष्ट्र विरुद्ध दिपेन्द्रको यो मात्रै उत्कृष्ट प्रदर्शन भने हैन । अन्तिम पटक श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा ऐरीले ९० रनको इनिंग खेलेपनि जितबाट नेपाल मात्र १ रनले चुकेको थियो ।
बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो । आसिफ शेख ३, अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न आएका ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेस्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिंग अघि बढाएका थिए ।
जितेन्द्र २८ औँ ओभरमा आउट हुनु पूर्व ९५ बलकाे सामना गर्दै ३६ रन बनाए जसमा ३ चौका सामेल थिए । त्यसपछि, दिपेन्द्रले एउटा किनार सम्हाली रहे भने अर्काे तर्फ विकेटकाे श्रृखला राकिएन । एरिलार्इ साथ दिन आएका रोहित पौडेल ६ , भीम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भएका थिए । शतकबाट १२ रनले चुक्दै इनिंगको ४९ औँ ओभरमा आउट भएका ऐरीलाई मन्दिप सिंहले पेभेलियन पठाएका थिए ।
भारतीय टिमको लागि बलर अभिषेक शर्मा र आदित्य ठाकरेले २/२ विकेट दिलाएका थिए । नेपालले अतिरिक्त रनको रूपमा ९ रन पायो ।
“








