निर्वाचन कुनै पनि हालतमा नरोकिने : प्रमुख निर्वाचन आयुक्त

राजविराज, ८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन् । निर्वाचन तयारीका क्रममा सप्तरी पुगेका डा यादवले आज राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै चुनाव रोकिने कार्य अब महाअपराध हुने जिकिरसमेत गरे ।

उनले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रह समेत गरे । उनले चुनावका बेला पार्टीको झन्डा, चुनाव चिह्न अंकित टिसर्ट, टोपी, गम्छालगायत अन्य सामग्री राजनीतिक दलले बाँड्न सक्ने तर सोही सामग्री गरिब, दुःखी एवं बाढीपीडितलाई ती दलले दिन नसक्ने कार्यप्रति दुःख समेत व्यक्त गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा कुनै स्थानीय नेताहरूले त्यस्ता सामग्री प्रयोग गरेको भेटिए त्यसको स्पष्टीकरण पार्टीको केन्द्रीय कार्यालयलाई सोधिने बताए । सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापक उम्मेदवारको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न उनले स्थानीय प्रशासनलाई निर्देशन समेत दिए ।

उनले दुवै निर्वाचनका लागि एउटै मतपत्र छापिने बताउँदै स्थानीय निर्वाचनमा २ नं प्रदेशका जनताले जसरी उत्साहपूर्वक सहभगिता जनाए झैँ आउँदो निर्वाचनमा पनि सहभागिता जनाउन जनतासमक्ष आग्रह गरे । सो कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानासहित चारवटै क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =