‘हल्लाको पछि नलाग्नुस्, सरकार तत्काल परिवर्तन हुँदैन’

जेठ १९, काठमाडौं । दुई दिन अघि प्रचण्डले सत्ताबारे राखेका धारणा सञ्चार माध्यमहरुमा सार्वजनिक भएसँगै यसको पक्ष विपक्षमा अनौपचारिक बहस चलिरहेको छ ।
नेकपाभित्रै पनि कति सदस्यहरुले प्रचण्डको ढाकछोप तथा उनको पक्षमा उभिएर धारणा सार्वजनिक गरिरहेका छन् भने कतिले प्रचण्ड गलत भएको टिप्पणी गरिरहेका छन् । यस्तैमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तत्कालै सरकार परिवर्तन नहुने बताएका छन् ।
null
प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकार तत्कालै परिवर्तन नहुने बताएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे।
२०७६/०७७ का लागि विनियोजित बजेटबारे पनि उनले धारणा राखे । मन्त्री बाँस्कोटाले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए । अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने संकल्प सरकारले लिएको उनको दाबी छ ।
सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।
कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै उनले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गरे। ‘अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्।’
उनले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताए ।








