काठमाडौंलाई बस्न लायक शहर बनाउन एनआरएनएले सघाउने

काठमाडौं । राजधानी काठमाडौंलाई कसरी बस्नलायक शहर बनाउने भन्नेबारे गैरआवासीय नेपाली संघ र काठमाडौं महानगरपालिका बीच छलफल भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बीच सोमबार भएको भेटमा काठमाडौंलाई विश्वका बस्नलायक सहरको सूचीमा पार्नेगरी काम गर्न संघ र महानगरपालिका बीच सहकार्य गर्न सकिने सम्भावनाबारे कुराकानी भएको हो ।

सो अवसरमा अध्यक्ष घलेले काठमाडौंको वातावरण र पूर्वाधारको अहिलेको अवस्थामा सुधार गर्न गैरआवासीय नेपालीहरुले सीप र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न सक्ने बताउनु भयो । ‘विश्वकै उत्कृष्ट बस्नलायक शहरमा सूचीकृत भएका ठाउँमा गैरआवासीय नेपालीहरु बसिरहेका छन्,’ अध्यक्ष घलेले भने, ‘ती शहरका अनुभव, सीप र प्रविधि काठमाडौंमा विस्तार गर्न सके काठमाडौंलाई पनि बस्नलायक बनाउन सकिन्छ, त्यसका लागि हामी गैरआवासीय नेपालीले सहयोग गर्न सक्छौं ।

घलेले सिस्टर सिटीको सम्बन्ध कायम गर्ने अवधारणा अनुसार केही नमूना शहरसँग सहकार्य गरी सुधारका काम थाल्न सकिने सुझाव समेत दिएका थिए । संघ र महानगरपालिका बीच बेग्लै सम्झौता गरी यो कार्यलाई अगाडी बढाउन उनले प्रस्ताव गरेका थिए । साथै उनले गैरआवासीय नेपालीहरुले सिकेको सीप र आर्जेको पूँजी नेपालको सवृद्धिमा लगाइरहेको भन्दै त्यसको ठूलो हिस्सा काठमाडौं महानगरपालिका भित्र रहेको जानकारी दिएका थिए ।

एनआरएनले गैरआवासीय नेपालीहरुको मातृभूमिप्रतिको लगावलाई अझ प्रगाढ पार्ने उदेश्यबाट काठमाडौं महानगरपालिका भित्र पर्ने बालुवाटारमा संघको प्रधान कार्यालय निर्माण गर्न लागेको जानकारी दिँदै भवन निर्माणमा महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =