मन र मस्तिस्क सफा भएमात्रै सम्वृद्धि सम्भव

साउन २५, मकालु खबर । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले विश्वमा नेपाललाई चिनाउनका लागि नमूना बस्ती निर्माणमा लागेको बताएका छन् । दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरसफाई दूत कट्टेलले विश्वले नेपाललाई एकै ठाउँमा हेरर चिन्न सकोस् भनेर आफूले नमूना बस्ती निर्माण परियोजना शुरु गरेको बताए । उनले उक्त नमूना बस्ती निर्माणमा हरेक जिम्मेवार नागरिक र राज्यले समेत सहयोग गर्ने आशा व्यक्त गरे ।

ललितपुर जिल्लाको लेलेमा नमूना बस्ती निर्माणको लागि प्रस्ताव पेश गरेको हुँदा राज्यले त्यसमा अनुमति दिने उनले आशा व्यक्त गरेका थिए । पाँच अर्बको अनुमानित बजेटमा उक्त राष्ट्रिय गौरवको बस्ती बनाउने योजना सुनाएका उनले त्यहाँ हिमाल, पहाड, तराई, सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्विनी, जनकपुरको जानकी मन्दिर, २२५ जात जातिको पहिचान झल्किने बस्ती एउटै कम्पाउन्डमा निर्माण गरिने बताए ।

नमूना बस्ती निर्माण परियोजनालाई साझा परियोजनाको रुपमा अगाडि बढाउने बताउँदै उनले परियोजना सफल पार्नका लागि हरेक नेपाली नागरिकले जम्मा दुई सय रुपैयाँ दिएमा पनि  ६ अर्ब बढी संकलन हुने बताए । नमूना नेपाल निर्माण भएपछि लाखौँ विदेशी पर्यटक भित्र्याउन सकिने उनको भनाई छ ।

समाजलाई पीडा, दुःख र आपत परेको समयमा पछिल्लो समय आफू जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्न कलाकारिता भन्दा पृथक कार्यमा होमिएको उनको भनाई थियो । देश भित्रको पीडालाई समयमै मलम पट्टी लगाउन सबै सचेत नागरिक लाग्न जरुरी रहेको उनले बताए । सरसफार्इ दूत कट्टेलले अब आफू प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्वमा चिनाउन दिनरात नभनी खटिने बताए । गिरान चौर, मुसहर बस्ती लगायतका एकीकृत बस्ती निर्माणपछि उनले अब आफू नमूना देश निर्माणमा लागेको बताए ।

मन र मस्तिस्क सफा भएमात्रै सरसफाइ सम्भव

चर्चित कलाकार तथा नेपाल सरकारका सरसफाई दूत सिताराम कट्टेल ‘धुर्मुस’ तुलसीपुर बजारको फोहर संकलन कार्यमा सहभागी भए । त्यसपछि बीपी चोकमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक चेतना फैलाउन सकेमात्र फोहर व्यवस्थापन गर्न सहज हुने बताए । बुधबार दाङको तुलसीपुरमा ५१ औं हप्ताको सरसफार्इ अभियानमा सहभागी उनले सबैभन्दा पहिले कुनैपनि व्यक्तिको मन र मस्तिस्क सफा गर्न आवश्यक रहेको बताए । ‘हाम्रो मस्तिस्कमा फोहोर भएकै कारण कसैको प्रगतिमा डाहा गर्छौं ।’ सरसफाइ दूत कट्टेलले थपे ‘अब सबैको मन मस्तिस्कमा सतकर्म र सम्वृद्धि आवश्यक छ ।’

मुलुकको सम्बृद्धिका लागि सफा मन भएको नेतृत्व देशलाई आवश्यक रहेको उनले बताए । जबसम्म नेतृत्व तहमा रहेको फोहर बाहिर फ्याकिदैन तब सम्म मुलुकले विकासको गति लिन सक्दैन ।  उनले देशको विकास र सम्बृद्धिका लागि सरकारको मुख ताकेर मात्रै सम्भव नहुने भन्दै विकासका लागि अब नागरिक नै जागरुक हुनु आवश्यक रहेको बताए । उनले आफूले उत्पादन गरेको फोहर सबैले आफैँ सफा नगर्दासम्म सरसफाइले सार्थकता पाउन नसक्ने बताए ।

‘क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियानका संयोजक विमल रिजालको अध्यक्षमा भएको उक्त कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे,  कलाकारहरु शुरवीर पंडित , पल्पासा डँगोल (चमसुरी) , बैङ्क अफ काठमाण्डूका गणेश लम्साल लगायतले सम्वोधन गरेका थिए । गतसाल भदौ १३ गते गतेबाट सरकारका पूर्व मूख्य सचिव लीलामणि पौडेलले अभियान शुरु गरेका थिए । यसैबीच अभियान बुधबारदेखि तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । हरेक मंगलबारका दिन तुलसीपुरमा अभियान सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =