राजधानीमा शंकास्पद गाडी भेटिने क्रम जारी, गगनको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि प्रमुख सञ्चारमाध्यमका कार्यालयदेखि नेताका घर अगाडि शंकास्पद गाडी भेटिने सिलसिला जारी छ ।

बिहानै कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा गाडी राखिएको केही समयमै रातोपुलस्थित महामन्त्री थापाको निवास अगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवास अगाडि राखिएको थियो। गाडीका कारण आवतजावतमा समेत अवरोध उत्पन्न भएको थियो भने यसबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रहरीले गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । घटनामा कुनै आपराधिक उद्देश्य रहेको वा नरहेको विषयसमेत अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ।

यसअघि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो अवरुद्ध हुने गरी पार्किङ गरिएका गाडीहरू प्रहरीले क्रेनको सहयोगमा हटाएको थियो । ती गाडीका वास्तविक चालक, प्रयोगकर्ता तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि आवश्यक अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

एकै दिन राजधानीका प्रमुख सञ्चारगृह र एक उच्च राजनीतिक नेताको निवासलाई लक्षित गर्दै समान प्रकृतिका घटना दोहोरिएपछि सुरक्षा निकाय थप सतर्क बनेको छ । घटनाबीच कुनै आपसी सम्बन्ध छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =