सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न, विपक्षीको नाडी छाम्ने प्रयास नगर्न चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् ।
सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन् । उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए ।
सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको पनि बताए । नेता आङ्देम्बेले संसदमा कुनैपनि विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनसाय हुने गरेकोप्रति समेत असन्तुष्टि जनाए ।
उनले सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए । सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत चेतावनी दिए ।
‘संसदमा विरोध जनाएपछि पछि विपक्षी दलहरू सबैले बोल्न पाउनुप¥यो । यो नाडी छाम्ने काम गर्नुहुँदैन संसदभित्र । सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न । यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ,’ उनले भने, ‘संसदमा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन् । त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानीकन मित्रवत् सम्झिनुपर्छ । किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो ।’
सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ ।








