मिडिया हाउस अगाडि राखिएका गाडीमध्ये एउटा बैंक र दुई वटा व्यक्ति विशेषका नाममा दर्ता

काठमाडौँ । राजधानीका प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएका तीनवटा गाडीमध्ये एउटा बैंक र दुईवटा व्यक्ति विशेषका नाममा दर्ता रहेको खुलेको छ ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो अवरुद्ध हुने गरी गाडी पार्किङ गरेर छाडिएको थियो । गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय परिसरभित्र आफ्ना सवारीसाधन लैजान र नियमित आवतजावत गर्न समेत समस्या भएको थियो ।

यातायात व्यवस्था विभागको विवरणअनुसार कान्तिपुर पब्लिकेसन्सको कार्यालय अगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता रहेको पाइएको छ ।

त्यस्तै, अनलाइनखबरको कार्यालय अगाडि राखिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको तथा हिमालय टेलिभिजनको कार्यालय अगाडि पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा दर्ता रहेको स्रोतले जनाएको छ ।

यद्यपि, ती गाडी त्यहाँ कसले र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गाडीका वास्तविक चालक तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटनापछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो । पछि क्रेनको सहयोगमा तीनै स्थानबाट गाडी हटाइएको प्रहरीले जनाएको छ ।

यसअघि नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका कार्यालयको गेटमा गाडी पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि छानबिन र आवश्यक कारबाहीको माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =