बेवारिसे गाडीबारे रास्वपाका निवर्तमान केन्द्रीय सदस्यको टिप्पणी- ‘साङ्केतिक विरोध हुन सक्छ’

काठमाडौँ । काठमाडौँका विभिन्न मिडिया हाउस तथा व्यावसायिक प्रतिष्ठानका कार्यालय अगाडि बेवारिसे अवस्थामा गाडी पार्किङ गरिएको घटनाबारे प्रधानमन्त्री बालेन शाहनिकट नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय सदस्य मधुसूदन ढकालले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
ढकालले उक्त घटनालाई अव्यवस्थित पार्किङले सर्वसाधारणलाई पार्ने असरबारे साङ्केतिक सन्देशका रूपमा पनि बुझ्न सकिने बताएका छन् ।
उनले भनेका छन्, ‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ । अर्को कुरा, जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा त्यसले अरूलाई कति अप्ठेरो पर्छ भन्ने थाह दिएको पनि हुन सक्छ ।’
ढकालको यस टिप्पणी बारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् ।
कतिपयले यसलाई सार्वजनिक स्थल तथा कार्यालय परिसरमा जथाभाबी पार्किङ गर्दा उत्पन्न हुने समस्याप्रति ध्यानाकर्षण गराउने सन्देशका भएको बताएका छन् भने केहीले घटनाको वास्तविक उद्देश्यबारे निष्कर्षमा पुग्नुअघि आधिकारिक अनुसन्धानको प्रतीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।
यसअघि काठमाडौँका केही सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले समेत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।








