तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो ।

सङ्घीय सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार सरकारी सेवा घरघरमै उपलब्ध गराउने लक्ष्यअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरघरमै पुर्‍याउने अभियान सुरु गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार घरदैलोमा राहदानी बुझ्ने दर्ता फारम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको हो । सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित पाँच चरणमा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरिएको उनले बताए ।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै समय र खर्च बचत पनि हुने सहायक प्रजिअ कार्कीले बताए । यो सेवा लिन चाहने सेवाग्राहीले हुलाक शुल्कबापत रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ ।

भौगोलिक रूपमा विटक र सडक सञ्जाल नजोडिएका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीको तयारीमा रहेका सेवाग्राहीका लागि यो अभियान उपयोगी हुने जिल्ला हुलाक कार्यालका प्रमुख अशोक राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =