म्याग्दे गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको हो ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बाँदरको बढ्दो आतङ्कका कारण प्रभावित किसानलाई राहत पुग्नेगरी विभिन्न कार्यक्रम ल्याइने जानकारी दिए । उनका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लीगान, हलेदोलगायतका खेतीमा प्रोत्साहन गरिनेछ । बाँदरले कम क्षति पुर्याउने तथा बजारमा समेत राम्रो माग रहेका यस्ता नगदे बालीको उत्पादन विस्तारमार्फत कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित आत्मनिर्भर समृद्ध म्याग्देको आधार अभियान सञ्चालन गरिने बताए । उनका अनुसार व्यावसायिक साना किसानलाई उत्पादन र लागतका आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड दिइनेछ ।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशालामार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ । माटो परीक्षणका आधारमा उपयुक्त बाली छनोट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, खेतीयोग्य जमिनको संरक्षण तथा सदुपयोगका लागि भूमि बैंक गरिने भएको छ । उपयोगविहीन अवस्थामा रहेका जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले भूमि बैंक अवधारणालाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
किसानलाई समयमै सेवा उपलब्ध गराउन सञ्चालनमा रहेको कृषि एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने भएको छ । कृषि उत्पादन, प्राविधिक सेवा तथा कृषिसम्बन्धी आवश्यक सामग्रीको पहुँच सहज बनाउन कृषि एम्बुलेन्सलाई व्यवस्थित गरिने श्रेष्ठले बताए ।








