खाद्य गुणस्तर परीक्षणका लागि कामपाद्वारा खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ प्लाजामा स्थापना गरेको ल्याबको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक कार्यक्रमका बीच ल्याब सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।

महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख डङ्गोलले बताइन् ।

उनले ल्याब नहुँदा बजार अनुगमनका क्रममा खाद्य वस्तुहरूको प्रयोगशाला परीक्षणमा समस्या भोग्नुपरेपछि आफैले ल्याब सञ्चालनमा ल्याएको जानकारी दिइन् । यसअघि आफ्नै ल्याब नहुँदा परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा अनुगमन प्रभावकारी हुन नसकेको उनको भनाई छ । आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सकिने भएकाले अनुगमनलाई तीव्र र प्रभावकारी बनाउन सहज हुने उनले बताइन् ।

महानगरले यसअघि सञ्चालनमा ल्याएको मोबाइल ल्याबलाई पनि नयाँ प्रयोगशालाले थप सहयोग गर्ने उल्लेख गरिन् । स्वस्थ खाद्य वस्तु नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले महानगरले खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।

उनले भनिन् ‘काठमाडौँ महानगरपालिकाले धेरै पहिलेदेखि नै माइक्रो वायोलजी ल्याब स्थापना गर्ने प्रयास गरेका थियौँ, यो आज स्थापना गरेका छौँ । हामीले बजार अनुगमनलाई निरन्तरता दिएका छौँ, अनुगमनको क्रममा धेरै समस्याहरू देखिने गरेका छन् । अनुगमनको क्रममा कतिपय वस्तुहरूको ल्याब टेस्टमा पठाउनुपर्ने हुन्छ, कतिपयमा दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीलाई ल्याब टेस्टको जरुरी थियो, आफ्नै ल्याब टेस्ट नहुँदा अरूकोमा भर पर्दाखेरि परीक्षण रिपोर्ट आउन लामो समय लाग्ने भइरहेको थियो । अब ल्याब स्थापना भएसँगै केही परीक्षण हामीले यहीबाट गर्नसक्छौँ । यो सुरुवात हो, यसलाई हामीले विस्तार गर्दै जानेछौँ । साथै महानगरले यसअगाडी मोबाइल भ्यान ल्याबको पनि सुरुवात गरेका छौँ । त्यसलाई यो ल्याबले अझ सहयोग गर्नेछ । हाम्रो खानेकुरा स्वस्थ भएमा हामी स्वस्थ हुने हो, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । हामी बजार अनुगमनमा जाँदा नमुना परीक्षणको लागी आफ्नै ल्याब हुँदा धेरै सहज हुनेछ, यसले अनुगमनलाई तीव्रता दिन सहज बनाउने र अनुगमन प्रभावकारी पनि बनाउने छ । महानगरपालिकाले दण्ड जरिवाना मात्रै गर्दैन, हामीले व्यवासायीहरुलाई खाद्य सुरक्षाको बारेमा पनि जानकारी दिनेछौँ । हामीले फुड सेफ्टी बुट क्याम्प पनि गर्ने गरेका छौँ, हालसम्म ३ हजार भन्दा बढी व्यवसायीहरूलाई फुड सेफ्टी बुट क्याम्पमा राखेर खाद्य सुरक्षाको बारेमा जानकारी गराएका छौँ ।’

काठमाडौँ महानगरपालिकाकी सल्लाहकार तथा खाद्य स्वच्छता विज्ञ जीवनप्रभा लामाले स्थानीय तहको स्तरमा खाद्य प्रयोगशाला स्थापना हुनु ऐतिहासिक कदम भएको बताइन् ।

खाद्य प्रणालीलाई प्रभावकारी बनाउन कानून, व्यवस्थापन, प्रयोगशाला, खाद्य निरीक्षण र व्यवसायीलाई खाद्य शिक्षाको व्यवस्था अनिवार्य हुने उल्लेख गर्दै उनले काठमाडौँ महानगरले यी सबै पक्षलाई प्राथमिकताका साथ अघि बढाएको बताइन् । उनका अनुसार नयाँ प्रयोगशालाले खाद्य परीक्षणलाई वैज्ञानिक र छिटो बनाउने मात्र नभई उपभोक्ताको स्वास्थ्य संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ । साथै, यसबाट अन्य स्थानीय तहलाई पनि खाद्य सुरक्षा प्रणाली सुदृढ गर्न प्रेरणा मिल्ने उनको भनाई छ ।

उनले भने ‘महानगरपालिकाले ऐतिहासिक काम सुरु गरेको छ । स्थानीय तहहरूले हालसम्म खाद्य प्रयोगशालाको स्थापना र अनुगमन गर्ने गरेका छैनन् । तर काठमाडौँ महानगरले यहाँ बस्ने उद्यमीलाई सहयोग गर्ने र उपभोक्ताहरूको स्वास्थ्य संवर्द्धन गर्नको लागी पहिलेदेखी नै केही सुरुवात गर्दै थियो, हाल यो प्रयोगशाला स्थापना गरेर एउटा माईलस्टोन सुरु गरेको छ, यसलाई अनुसरण गरेर अन्य स्थानीय तहले पनि यो काम गर्नुहुन्छ भन्ने लागेको छ । खाद्य प्रणालीमा पाँच वटा कुरा मुख्य मानिन्छ । पहिलो, यो सँग सम्बन्धित ऐन कानून हुनुपर्छ, व्यवस्थापन हुनुपर्छ, प्रयोगशाला हुनुपर्छ र खाद्य निरीक्षण हुनुपर्छ । पाँचौँमा उद्योगी व्यवसायीहरूलाई खाद्य सम्बन्धी शिक्षा दिनुपर्छ । यो पाँच वटै कुरालाई काठमाडौँ महानगरले अपनाउँदै आएको छ । प्रयोगशाला स्थापनाले काठमाडौँका नागरिकको स्वास्थ्य संवर्द्धन गर्नेछ ।’

महानगरले बजार अनुगमनका क्रममा दण्ड–जरिवानामा मात्र नभई व्यवसायीलाई खाद्य सुरक्षाबारे सचेतना प्रदान गर्ने गरेको जनाएको छ । महानगरले ‘फुड सेफ्टी बुट क्याम्प’मार्फत हालसम्म तीन हजारभन्दा बढी व्यवसायीलाई खाद्य सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =