स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्छः सांसद सिद्धिकी

काठमाडौं । नेकपा (एमाले) की सांसद सजिदा खातुन सिद्धिकीले स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् । बुधवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले विदेशी शिक्षा मोहले देशको शैक्षिक जनशक्ति र गुणस्तरमा नकारात्मक असर परेको भन्दै यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी रहेको बताइन्  । सांसद सिद्धिकीले देशभर सञ्चालित निजी कोचिङ सेन्टरहरूको सुधारका लागि सरकारी हस्तक्षेप आवश्यक रहेको पनि बताइन् । निजी कोचिङ सेन्टरहरुलाई अनुशासनमा बाँध्नको लागि सरकारले नियमनकारी नीति अपनाउनुपर्नेमा उनको जोड छ ।

‘हामीले आफ्नो देशको शिक्षालाई अवमूल्यन गर्‍यौं । बाहिर देशमा गएर शिक्षा नलिएसम्म हामी केही पनि गर्न सक्दैनौँ जस्तो हिसाबले हेर्‍यौं । के नेपालको ‘ए’ र विदेशको ‘ए’ फरक हो र ?,’ उनले भनिन्, ‘जबसम्म हामीले आफ्नो देशको शिक्षा प्राप्त गर्ने कुरामा गर्व गर्न सक्दैनौँ तबसम्म हामी उपलब्धि प्राप्त गर्न सक्दैनौँ । देशभरिका निजी कोचिङ सेन्टरहरुलाई नियममा बाँधिन म अनुरोध गर्छु ।’

त्यस्तै, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोईरालाले शिक्षा क्षेत्रको सुधारका लागि ऐन पर्खिनुभन्दा उपलब्ध नियमावली र कार्यविधिबाटै काम अघि बढाउन बढाउन सकिने बताए । उनले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत सुधारको आवश्यकता रहेको जोड दिए । शिक्षा ऐन, नीति र नियमावलीबीच तादम्यता नभएको बताउँदै उनले नियमावली समेत संसदले बनाउँछ भनेर सांसदहरू नै भ्रम पालेर बसिरहेकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिले शिक्षासम्बन्धी ऐन, नीति र नियमावलीमा फरक फरक छ । किनभने ऐन बनाउनको लागि संसदतिरै जानुप¥यो । नियमावली निर्माण गर्ने कुराको लागि पनि संसदमै जानुपर्‍यो । त्यसमा सांसदहरुको काम हुन्छ भनेर भन्नुभयो । तर यो काम सांसदहरुको होइन । नियमावलीको काम सांसदले नभई सरकारले गर्ने हो । विद्यार्थीहरुलाई स्वदेशमै पढ्न पाउने र कमाउन सकिने गरि काम गर्न म सुझाव दिन्छु ।’

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विद्यार्थीलाई मुलुकमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने अनुभूति गर्नेगरी कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =