प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छ: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लङ्घन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री साह र गृहमन्त्री सुधन गुरुङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लङ्घन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत व्यक्त गरे ।

नेता शाहीले उक्त ट्राफिक उल्लङ्घनको घटनाबारे पत्रकारहरूले पनि समाचार नबनाएको गुनासो समेत गरे । सम्पत्ति शुद्धिकरणको डरले सञ्चार माध्यामहरुले पनि प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले ट्राफिक नियम उलंघन गर्दा पनि समाचार नबनाएको उनको जिकिर थियो ।

नेता शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाही गरेको दृष्टान्त पेस गर्दै प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङलाई भने उक्त कारबाही नगरेर सरकारले विभेद गरेको पनि बताए ।

उनले भने ‘सरकारले आफ्नो र पराई भनेर छुट्ट्याउनु भएन । जस्तै सवारी साधनमा कारबाही गरियो नि त । मुख्यमन्त्री पनि कारबाहीमा परे भने गृहमन्त्री किन नपर्ने ? उहाँले पनि त गाडीमा सिटबेल्ट नलगाई चलाएको भिडियो हालिएको छ नि । प्रधानमन्त्री स्वयमले सिटबेल्ट नलगाई गाडी चलाएको भिडियो त सार्वजनिक छ त । यस विषयमा नेपालको कुनै मिडियाले लेख्न सक्यो त ? किनभने सम्पत्ति शुद्धिकरणको सबैलाई डर छ जस्तो छ । तर हामीलाई छैन । हामी खुलमखुला छानबिन गर्नुस् भनिराखेका छौ । कारबाही गर्नुपर्दछ । त्यो राम्रो कुरा हो । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ किन कारबाही नगर्ने ? यस्तो गर्दै गइयो भने हिजोको सरकार र आजको सरकारबीच केही फरक हुँदैन है ।’

नेता शाहीले सरकारले कर्णालीको सडक सुधारमा चासो नदिएको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =