सांसदहरूको गुनासो- सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भीर भएन

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनताको पीडालाई सम्बोधन गर्न कुनै ठोस पहल गरेको गुनासो गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुश्बु ओली, आशिका तामाङलगायतका सांसदहरूले विभिन्न समस्यामा कारण पीडामा परेका जनताको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको जिकिर गरेका हुन् ।

एमालेका प्रमुख सचेतक समेत रहेका महरले बझाङमा आगलागीको घटनामा परी नागरिकहरूको ठुलो धनको क्षति भएको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले सरकारले विपदमा परेर गाँस, बास र कपासको अभाव झेलिरहेका नागरिकलाई राहत दिने काममा ढिलाइ गरेकोमा आपत्ति जनाए ।

प्रमुख सचेतक महरले भने ‘बझाङ जिल्लामा विभिन्न समयमा भएर आगलागीको घटनाले पीडित नागरिकलाई गाँस, बास र कपासको लागि पनि ठुलो समस्या परेको छ । उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । म जोड दिएर भन्न चाहन्छु, यस्ता विषयमा ध्यान देओस् । ती नागरिकहरूको क्षतिपूर्तिमा पनि सरकारले समयमा नै व्यवस्था गरोस् । हुन त यो सरकारलाई यत्रो सिंहदरबार चलेको छ, संसद जलेको छ । यत्रो सर्वोच्च अदालत जलेको छ । तर पनि यसलाई खासै दुखेको छैन ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले एन्फामाथि प्रतिबन्ध लगाउने फिफाको निर्णय फिर्ता गराउन कुनै पहल नगरेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारले एन्फामाथि हस्तक्षेप गरेपछि फिफाले उक्त निर्णय लिएको आरोप समेत लगाए ।

सांसद मल्लले भने ‘नेपालको फुटबलमा फिफाले गरेको निलम्बन केवल खेलकुदको विषय मात्रै होइन । यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो । फिफा र एएफसीले हस्तक्षेप नगर्न अन्यथा नेपालमाथि प्रतिबन्ध लगाउन सक्ने स्पष्ट चेतावनी दिएका थिए । तर सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन । राष्ट्रिय खेलकुद परिषद्ले अनावश्यक हस्तक्षेप गर्दा नेपाली खेडालीहरु एन्फाको निलम्बनमा पर्नुपर्यो । यसमा मेरो सरकारसँग माग छ–तत्काल कूटनीतिक पहल गरी यो समस्या समाधान गरियोस् ।’

चिकित्सकहरूमाथि हुने श्रम शोषणको अन्त्य गर्न राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारसँग माग गरिन् । उनले सरकारले चिकित्कसहरुलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध गराउनका लागि कुनै ठोस कदम नचालेको भन्दै गुनासो समेत गरिन् ।

प्रमुख सचेतक ओलीले भनिन् ‘चिकित्सकहरूमाथि पनि श्रम शोषण हुने गरेको छ । यस अवस्थालाई समयमा नै सम्बोधन गरिएन भने नेपालले चिकित्सकहरूका साथै अन्य स्वास्थ्यकर्मीहरू गम्भीर अभावको सामना गर्नुपर्ने जोखिम बढ्दै जाने निश्चित छ । त्यसैले यो विषय चिकित्सकहरूको पेसागत हितको विषयमा मात्रै सीमित छैन । यो जनस्वास्थ्यसँग गाँसिएको अत्यन्तै गम्भीर विषय हो । यस विषयमा सरकारबाट पटक पटक आश्वासन पाएपनि समस्या समाधानका लागि ठोस पहल नलिएको हुनाले आउँदो शनिवार शान्तिपूर्ण प्रदर्शनको पनि घोषणा गरिएको छ ।’

सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले बर्डफ्लुको त्रास फैल्याएर किसानलाई मारमा पार्ने काम हुँदा पनि सरकार गम्भीर नभएको गुनासो गरिन् । उनले बर्डफ्लु पुष्टि भएको भए यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद तामाङले भनिन् ‘बजारको बर्डफ्लुको हल्ला र त्रासका कारण किसानहरूले गम्भीर समस्या भोगी रहेको जानकारी गराउन चाहन्छु । यसबाट कुखुराको मासु र अण्डाको मूल्य घटने र किसानको ठुलो लगानीमा जोखिम बढ्ने अवस्था सृजना भएको छ । यस विषयमा नेपाल टेलिकमको रिङटोनबाट समेत किसानहरूलाई मारमा पार्ने खालको सन्देश प्रवाह गरियो । यस सन्दर्भमा वास्तविक प्रयोगशालामा परीक्षण गरी पुष्टि भएका हुन् कि, केबल आशंकाका आधारमा जारी भएका हुन ? यो विषयमा स्पष्ट पार्न अत्यन्तै आवश्यक देखिन्छ । वास्तवमा बर्ड फ्लुको पुष्टि भएको हो भने यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चालिनु पर्दछ ।’

सांसद तामाङले बर्डफ्लुको सन्त्रास फैल्याएर किसानलाई त्रासमा पार्ने काम नहुने वातावरण बनाउन सरकारले ढिलाइ गर्न नहुने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =