संवैधानिक कानूनको ज्ञान नभएको व्यक्तिबाट संविधान संशोधन हुन सक्दैन: काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक चयनप्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक कानूनको पर्याप्त ज्ञान नभएको व्यक्तिलाई कार्यदलको संयोजक बनाइएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाए ।
आङदेम्बेले संविधान संशोधनजस्तो महत्वपूर्ण विषयलाई सरकारले हल्का रूपमा लिएको आरोप लगाउँदै यस्तो कार्य अपरिपक्व भएको टिप्पणी गरे ।
उनले संविधानको मर्मअनुसार बहस अघि बढाउन बहालवाला वा पूर्व प्रधानन्यायाधीशको नेतृत्व आवश्यक रहेको बताए । ‘लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो । लोकतन्त्र संवादबाट चल्छ, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ,’ उनले भने ।
उनले पछिल्ला सय दिनमा सरकारको कार्यशैली संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयतर्फ उन्मुख रहेको दाबी गरे ।
‘स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन । लोकतान्त्रिक बाटो सुल्टो हो,’ उनले भने ।
आङदेम्बेले प्रधानमन्त्रीलाई लक्षित गर्दै लोकतान्त्रिक बाटोमा आए पनि व्यवहारमा उल्टो दिशामा अघि बढिरहेको जस्तो देखिएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यू लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान हुन्छ,’ उनले भने ।
उनले संविधान संशोधनलाई हल्का रूपमा लिएर सरकार गलत दिशामा अघि बढिरहेको आरोप पनि लगाए ।
‘संविधानमा कुनै योगदान नभएको वा हाम्रो संविधानले चिनेको व्यक्तिको नेतृत्वमा बहसपत्र तयार गर्नु गम्भीर त्रुटि हो,’ उनले भने ।
आङदेम्बेले संविधान संशोधन प्रक्रियामा गम्भीर, अनुभवी र संवैधानिक रूपमा मान्य व्यक्तिको नेतृत्व आवश्यक रहेको दोहोर्याए ।








