जनतालाई मूर्ख बनाउँदा दलहरुले आफैँ मूर्ख बनेको भेउ नै पाएनन्ः चन्द्रकान्त भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले राजनीतिक दलहरूले जात, भूगोल, संघीयता लगायतका विषयमा जनतालाई भ्रममा पार्दा पार्दै आफैं पनि अलमलिएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले प्राकृतिक स्रोतको उपयोग र विकास निर्माणमा प्रभावकारी नीति नहुँदा नागरिकले अपेक्षित लाभ नपाएको बताए ।

उनले कालीगण्डकी नदी थुनेर विद्युत उत्पादन भए पनि प्रभावित क्षेत्रका नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार नभएको उदाहरण प्रस्तुत गरे ।

‘कालीगण्डकी थुनेर बिजुली निकालिएको छ । पैसा खर्च गरेर विद्युत उत्पादन भयो तर एक परिवारको पनि जीवनस्तरमा सुधार आएको छैन,’ उनले भने ।

भण्डारीले जल, जमिन र जंगल जनताको सम्पत्ति भनेर भाषण गर्ने राजनीतिक दलहरूले त्यसको वास्तविक उपयोग गरेर नागरिकलाई लाभ दिन नसकेको आरोप लगाए ।

‘हामीले जल, जमिन, जंगल जनताको भनेर नागरिकलाई मूर्ख बनायौँ । तर हामी आफैंले आफूलाई मूर्ख बनाएको थाहा पाएनौँ,’ उनले भने ।

उनले जात, भूगोल, लिङ्ग, प्रदेश र संघीयताको नाममा जनतालाई पटक–पटक भ्रमित गरिएको टिप्पणी गरे ।

कृषि क्षेत्रबारे बोल्दै उनले किसानले उत्पादनदेखि बजारसम्म गम्भीर समस्या भोगिरहेको बताए । ‘नेपालको कृषि क्षेत्रमा जति समस्या छन्, त्यति अरु कुनै क्षेत्रमा छैन,’ उनले भने ।

उनले किसानलाई लक्षित गर्दै व्यंग्यात्मक रूपमा ‘तीन थरी बाँदर’ को प्रसंग समेत उल्लेख गरे ।

‘एकथरी बाँदरले खेतबारीमा दुःख दिन्छन्, अर्कोथरीले अनुदान खाइदिन्छन्, अनि तेस्रोथरीले सिमाना खुला गरेर भारतबाट आयात गरिदिन्छन्,’ उनले भने ।

भण्डारीका अनुसार खुला आयातका कारण किसानले उत्पादन बिक्री गर्न नपाउने अवस्था सिर्जना भएको छ, जसले गर्दा नेपाली कृषि क्षेत्र क्रमशः कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =