दोहा वार्तापछिको अमेरिका-इरान संवाद प्रयास जारी

एजेन्सी । मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि तनाव कम गर्न र वार्तालाई अघि बढाउन प्रयास जारी छ ।

जुनमा वाशिङ्गटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा समझदारी पत्रमा सहमति जनाएका थिए । यसमा फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको हवाई हमलापछि सुरु भएको युद्धलाई ६० दिनका लागि रोक्ने तथा नाकाबन्दी गरिएको हर्मुज जलमार्ग (जलडमरूमध्य) फेरि खोल्ने व्यवस्था समावेश थियो ।

द्वन्द्वरत दुई राष्ट्रबीच भएको १४ बुँदे यो सम्झौताले युद्धलाई स्थायी रूपमा अन्त्य गर्न, हर्मुजको व्यवस्था, इरानको पुनर्निर्माण कोष र इरानकोे आणविक कार्यक्रम जस्ता विषयमा छलफल गर्न समयसीमा पनि तोकेको थियो ।

सहमति

दोहामा बुधबार दुई द्वन्द्वरत पक्षबीच अप्रत्यक्ष छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मध्यस्थकर्ता कतार र पाकिस्तानले कूटनीतिक संवाद अगाडि बढिरहेको सङ्केत दिएका छन् ।

‘कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले दोहामा बुधबार अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठक समाप्त गरेका छन् र सकारात्मक प्रगति भएको छ,’ दुवै मध्यस्थ राष्ट्रले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

वार्ता समाप्तिपछि इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी पत्रको कथित उल्लङ्घन रिपोर्ट गर्न र रेकर्ड गर्न बिहीबारसम्म सञ्चार च्यानल स्थापना गर्ने सहमति भएको बताए ।

तेहरानले कुनै पनि समाधानको भागको रूपमा माग गर्दै आएको रोक्का गरिएको इरानी सम्पत्तिको मुद्दा पनि छलफलमा आएको गारिबाबादीले बताए । उनले सुरुको छ अर्ब डलरको केही भागको प्रयोगबारे समीक्षा गरिएको र इरानलाई आवश्यक वस्तुहरू खरिद गरी उपलब्ध गराउने सहमति भएको उनले बताए ।

ट्रम्पले बुधबार ‘एअर फोर्स वन’ मा चढ्नुअघि पत्रकारहरूसँग भने ‘इरानको आणविक निशस्त्रीकरण राम्रोसँग अघि बढिरहेको छ ।’

एक स्रोतल एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बतायो, दोहाको अप्रत्यक्ष वार्ता मुख्य रूपमा हर्मुज जलडमरूमध्यको व्यवस्थामा केन्द्रित थियो भने आणविक मुद्दालाई पछिका चरणमा गहिरो छलफल गर्न बाँकी राखिएको थियो ।

अब के हुन्छ ?

आगामी अमेरिका–इरान अप्रत्यक्ष वार्ता इरानका दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिपछि हुनेछ ।

अयातोल्लाह अली खामेनी ८६ वर्षको उमेरमा युद्धको पहिलो दिन २८ फेब्रुअरीमा तेहरानको केन्द्रमा आफ्नो आवासमा मारिएका थिए । त्यसपछि शक्ति तुरुन्तै उनको छोरा मोजतबालाई सरेको थियो ।

अली खामेनीको सार्वजनिक अन्त्येष्टि शनिबारबाट सुरु हुनेछ । उनको शव तेहरानको केन्द्रमा रहेको विशाल परिसरमा राखिनेछ, जहाँ शुक्रबार गरिने प्रमुख प्रार्थना, आधिकारिक कार्यक्रम र धार्मिक सभाहरू हुने गर्छन् ।

कतार र पाकिस्तानले विज्ञप्तिमा दुवै पक्षले कुराकानी जारी राख्ने सहमति गरेको बताएका छन् । शबयात्रापछि यथासम्भव चाँडो अर्को बैठक राखिने उनीहरूले बताएका छन् ।

दिवंगत खामेनीको अन्तिम संस्कार ९ जुलाईमा उत्तर–पूर्वी शहर मशहदको इमाम रेजाको मस्जिदमा हुनेछ । मशहदजुन खामेनीको जन्मस्थल हो ।

मध्यपूर्वको तनाबको अवस्था

जुनमा अमेरिका–इरान सम्झौता भएपछि दुवै पक्षले खाडीमा छिटपुट गोलीबारी गरेका छन् ।

हर्मुज जलमार्गमा आफ्नो नियनत्रणलाई तेहरानले लागू गर्न खोज्दा बारम्बार झडप निम्तिएको छ ।

सबैभन्दा पछि भएको एक आक्रमणमा अमेरिकी सेन्ट्रल कमान्डले यो हप्ताको सुरुमा १० इरानी सैन्य लक्ष्यमा हमला गरेको बताएको थियो, जसलाई अमेरिकाले ‘व्यावसायिक जहाजमाथि इरानको निरन्तर आक्रामकता’ को जवाफ भनेको थियो ।

इरानले पनि आक्रमणको बदलामा भन्दै कुवेत र बहराइनमा रहेका अमेरिकी आधारमा जवाफी हमला गरेको दाबी गरेको थियो । दुवै देशले आक्रमणका लागि तेहरानको निन्दा गरेका थिए ।

तर कतारमा वार्ता हुनुअघिका दिनहरूमा गोलीबारी शान्त देखिएको छ ।

लेबनान मोर्चामा इजरायल र हिजबुल्लाहबीचको लडाइँ अपेक्षाकृत शान्त छ, यद्यपि राष्ट्रिय समाचार संस्था (नेशनल न्यूज एजेन्सी) ले बुधबार साँझ दक्षिणी शहर नबातिएहमा हमला भएको रिपोर्ट गरेको छ । यद्यपि, आक्रमणबाट भएको षति वा पीडितबारे उल्लेख छैन ।

दुई देशबीचको प्रस्तावित सहमतिहनुसार लेबनानले अझै इजरायल ‘पाइलट जोन’ बाट फिर्ता होस् भन्ने चाहन्छ र त्यहाँ लेबनानी सेना तैनाथ हुनेछ ।

तेहरानले कुनै पनि सम्झौतामा यो समानान्तर द्वन्द्व अन्त्य र दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ, जसको केही भाग इजरायलले कब्जा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =