भारतसँग सहकार्य विस्तारमा जापानको जोड

काठमाडौं । जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नयाँदिल्ली आइपुगेलगत्तै उहाँले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताइन् ।

जापानी क्याबिनेटको जनसम्पर्क कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वागतप्रति धन्यवाद दिँदै भारत भ्रमण गर्न पाउँदा निकै उत्साहित रहेको जनाएको छ । यसअघि केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले पालम प्राविधिक विमानस्थलमा ताकाइचीलाई स्वागत गरेका थिए । उनका अनुसार भ्रमणका क्रममा हुने १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनले दुई देशबीचको बढ्दो रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ताकाइचीलाई स्वागत गर्दै उनको पहिलो भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले दुवै नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा विस्तृत छलफल हुने र संयुक्त प्रयासमार्फत इन्डो–प्यासिफिक क्षेत्रसहित विश्वमा शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

ताकाइचीले अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो अनिश्चितताबीच समान मूल्य र रणनीतिक हित साझा गर्ने भारतसँगको सहकार्य अझ महत्त्वपूर्ण बन्दै गएको बताइन् । उनले प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा जापान–भारत रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने, आर्थिक सुरक्षामा सहकार्य विस्तार गर्ने तथा दुवै देशका कम्पनीबीच लगानी र नवप्रवर्तनमा सहकार्य बढाउने विषयमा ठोस प्रगति गर्ने अपेक्षा व्यक्त गरिन् ।

उनले सरकारी तथा निजी क्षेत्रबीचको साझेदारीलाई बलियो बनाउँदै जापान–भारत सहकार्यको दायरा अझ विस्तार गर्ने लक्ष्य रहेको पनि बताइन्। प्रधानमन्त्री मोदीको निमन्त्रणामा ताकाइची जुलाई १ देखि ३ सम्मको तीनदिने औपचारिक भ्रमणका लागि भारत आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =