पाकिस्तानमा वर्षा जन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाले पाकिस्तानमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा, एक महिला र तीन जना बच्चासहित छ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । वर्षाले दुईवटा घर पूर्णरूपमा क्षेतिग्रस्त बनाउनुका साथै ३८ वटा घरलाई आशिंक क्षति पुगेको जनाइएको छ ।
पूर्वी पञ्जाब प्रान्तमा, अटक जिल्लामा भारी वर्षाका कारण पर्खाल ढल्दा दुई जना बालबालिकाको मृत्यु हुनका साथै अन्य ३ जना घाइते भएको जनाइएको छ । यसैगरी दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक महिला र बालबालिकासहित तीन जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएको बताइएको छ ।
अधिकारीहरूले आगामी दिनमा थप वर्षाको चेतावनी दिँदै जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई आकस्मिक बाढी, पहिरो र वर्षासँग सम्बन्धित अन्य खतराहरू विरुद्ध सावधानी अपनाउन आग्रह गरेका छन् ।








