प्यालेस्टाइन शरणार्थी निकायका लागि वित्तीय स्रोत जुटाउन संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) लाई राजनीतिक समर्थनका साथै तत्काल ‘आवश्यक वित्तीय स्रोत’ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) अन्तर्गत स्वेच्छिक योगदान घोषणा गर्ने तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त आग्रह गरेका हुन् । कठोर मितव्ययिता र लागत नियन्त्रणका उपायहरू अवलम्वन गर्दा समेत हाल यस निकायले १० करोड अमेरिकी डलरको घाटा व्यहोरिरहेको उनले जानकारी दिए ।
यस वित्तीय अभावका कारण निकायले आफ्नो वर्तमान दायित्व पूरा गर्न नसकेको र तरलता संकटका कारण कार्यदेश कार्यान्वयनमा समेत गम्भीर जोखिम उत्पन्न भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
सन् २०२३ अक्टोबरदेखि गाजामा शुरु भएको द्वन्द्वमा ३९० भन्दा बढी कर्मचारीले ज्यान गुमाएको स्मरण गर्दै महासचिवले उनीहरूको बलिदानको सम्मान गरे । गाजा क्षेत्रमा रहेका निकायका सबै संरचनाहरू क्षतिग्रस्त वा ध्वस्त भएको जानकारी दिँदै उनले ती कार्यहरूको निन्दा गरे र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न आह्वान गरे ।
वित्तीय संकटका कारण यस वर्षको सुरुमा यूएनआरडब्लुएले आफ्नो सेवा प्रवाह २० प्रतिशतले कटौती गर्न बाध्य भएको थियो । यसका कारण स्थानीय कर्मचारीहरूको पारिश्रमिक कटौती गरिएको र १५ प्रतिशत अन्तर्राष्ट्रिय पदहरू रिक्त राखिएको छ ।
महासचिव गुटेरेसले थप बजेट कटौती भएमा प्यालेस्टिनी शरणार्थीहरूको अवस्था नियन्त्रण बाहिर जान सक्ने चेतावनीसमेत दिएका छन् ।
सन् १९४९ मा संयुक्त राष्ट्रसंघीय महासभाद्वारा स्थापित यूएनआरडब्लुएले प्यालेस्टाइन शरणार्थीहरूको समस्याको स्थायी समाधान नभएसम्म उनीहरूलाई मानवीय सहायता र संरक्षण प्रदान गर्ने कार्यदेश पाएको छ ।








