सञ्चार मन्त्रालयले आयोजना गर्‍यो ‘प्रवक्ता संवाद कार्यक्रम’

काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले आज ‘प्रवक्ता संवाद कार्यक्रम’ आयोजना गरेको छ ।

विभिन्न मन्त्रालय, आयोग, विभाग तथा सरकारी कार्यालयका प्रवक्ता र सूचना अधिकारीलाई एकै थलोमा ल्याएर अनुभव आदानप्रदान, चुनौतीको समीक्षा तथा सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी निकायले गरेका सकारात्मक काम र उपलब्धिबारे पर्याप्त सूचना नागरिकसम्म पुग्न नसकेको बताए । उनले सरकारका जनमुखी काम प्रभावकारी रूपमा सार्वजनिक हुन नसक्दा नागरिकमा नकारात्मक धारणा बन्ने अवस्था आएको उल्लेख गर्दै प्रवक्ताको भूमिका अझ जिम्मेवार र परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले सूचना सम्प्रेषण गर्दा सार्वजनिक गर्नुपर्ने र गोप्य राख्नुपर्ने सूचनाबीच स्पष्ट भिन्नता गर्नुपर्ने आवश्यकता औँल्याउँदै कतिपय अवस्थामा गोप्य प्रकृतिका सूचनासमेत बाहिरिने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

“कुन सूचना कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा सबै संवेदनशील हुनुपर्छ । सार्वजनिक गर्न नहुने प्रकृतिका सूचना वर्गीकरण गरिएको छ । त्यस्ता सूचनाको चुहावट राष्ट्रहितविपरीतको कार्य हो,” सञ्चारमन्त्री डा तिमिल्सिनाले भने ।

कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयहरूबीच सूचना सम्प्रेषण र समन्वयको अवस्था पछिल्लो समय सहज बन्दै गएको बताए । प्रवक्ताको भूमिका थप प्रभावकारी बनाउन यस्ता संवाद कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै उनले सूचना व्यवस्थापन, तथ्यमा आधारित सञ्चार र नागरिकसँगको विश्वास अभिवृद्धिमा प्रवक्ताको जिम्मेवारी महत्वपूर्ण रहेको धारणा राखे ।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले प्रवक्ता तथा सूचना अधिकारीहरूले कार्यसम्पादनका क्रममा भोगिरहेका व्यावहारिक समस्या, चुनौती तथा अनुभव साझा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले सहभागीबाट प्राप्त सुझाव र पृष्ठपोषणले आगामी दिनमा सरकारी सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सरकारी निकायका प्रवक्ताको भूमिका, सूचना सम्प्रेषणका चुनौती, सामाजिक सञ्जालको बढ्दो प्रभाव, गलत सूचना व्यवस्थापन तथा सरकारी निर्णय र सेवाप्रवाहबारे नागरिकलाई समयमै जानकारी गराउने विषयमा छलफल गरिएको थियो ।

‘प्रवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका, २०६३’ले सूचना तथा सञ्चार मन्त्रालयलाई सरकारी प्रवक्ताका लागि आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन र समन्वय गर्ने जिम्मेवारी दिएको छ । सोही व्यवस्थाअनुसार विभिन्न मन्त्रालय, आयोग, विभाग तथा सरकारी कार्यालयका प्रवक्ता र सहप्रवक्ताले सम्बन्धित निकायका गतिविधि, निर्णय र सार्वजनिक सरोकारका विषयबारे नियमित रूपमा जानकारी गराउने व्यवस्था रहेको छ ।

मन्त्रालयले यस्ता संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =