प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्योलमा परेको छ । बुधबार दिउँसो १:०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो ।

प्रदेश सरकारले प्रदेशसभामा यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकमा व्यापक त्रुटि रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेका हुन् ।

अवरुद्ध बैठक सञ्चालन गर्न सभामुख रामअशिष यादवको पहलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूबीच बुधबारदेखि छलफल भइरहे पनि सहमति जुट्न नसक्दा बैठक अन्योलमा परेको हो । बैठकलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको र सहमति भएपछि बैठक सञ्चालन हुने प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।

बुधबार बसेको बैठकको सुरुमा प्रतिपक्षी दुवै दलका प्रदेशसभा सदस्यहरूले सरकार आफ्नै नीति तथा कार्यक्रममार्फत घोषणा गरेको विषयलाई बेवास्ता गर्दै साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको तथा बजेटमा प्रतिपक्षमाथि विभेद गरिएको भन्दै त्यसलाई संशोधन नगरेसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएपछि सभामुख यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =