आगामी आवको बजेटमा पशुपतिनाथको नाम कतै उल्लेख नभएकोमा खल्लो लागेको छ: सांसद पुडासैनी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी राष्ट्रिय सभाकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले पशुपतिनाथ मन्दिरको व्यवस्थापनका लागि कुनैपनि बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरेकी हुन् ।

बजेटमा पशुपतिनाथको नाम कतै पनि उल्लेख भएको नपाइएको सांसद पुडासैनीको भनाई थियो । सांसद पुडासैनीले पशुपतिनाथ मन्दिरको पूर्वतिर बग्ने बागमती नदीमा ढल मिसिएको अवस्था हुँदा पनि सरकारले त्यसको व्यवस्थापनका लागि कुनैपनि बजेटको व्यवस्था नगर्नुले आफूलाई खल्लो बनाएको पनि बताइन् ।

उनले भनिन् ‘यो बजेटमा भगवान् पशुपतिनाथको समेत कतै नाम उल्लेख भएको मैले पाइन । यसले गर्दा पनि मलाई यस्तो लागिरहेको छ कि विश्वको लाखौँलाख मान्छेहरू भगवान् पशुपतिनाथमा आउँछन् । आराधना गर्दछन् । भगवान् पशुपतिनाथको पूर्वतिर बग्ने बागमतीको अवस्थाबारे मन्त्रीज्यू पुग्नुभयो, भएन । तर त्यो बागमतीको अवस्था हेर्दा साँच्ची नै दयनीय छ । त्यसमा ढल मिसिएको छ । त्यसको बारेमा कुनैपनि मन्त्रालयले केही पनि नभन्दा खेरी कताकता खल्लो महसुस भएको छ । हुन त म माननीय मन्त्रीज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । उहाँले गोकर्णेश्वर नगरपालिका १ गोकर्ण दरबारलाई केही रकम राख्नुभएको रहेछ । त्यसको लागि म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु ।’

सांसद पुडासैनीले गोकर्णेश्वर दरबारलाई बजेटले छोएको तर त्यो पर्याप्त नभएको पनि टिप्पणी गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =